फिचर

विदेशबाट १२५ शव ल्याइयो, अझै १ सय ५ ल्याउन बाँकी

फाइल तस्वीर

काठमाडौं । लकडाउनका कारण विदेशमा रोकिएका शव ल्याउने क्रम शुरु भएयता १ सय २५ वटा शव नेपाल ल्याइएको छ । सरकारले नेपालीको उद्दार थालेसँगै क्रमशः शवहरुसमेत नेपाल ल्याउन लागिएको छ ।

खाडी र मलेसियाबाट एक हप्ताको अवधिमा मात्र ३८ जना नेपालीको शव स्वदेश ल्याइएको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । यी देशबाट अहिले धमाधम उद्दार उडान जारी छ । बोर्डका अनुसार कोरोनाको महामारी सुरु भएपछि विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उतै रोकिएका ३३७ शव नेपाल ल्याउनु पर्ने थियो । त्यसमध्ये शनिबारसम्ममा १२५ जनाको शव नेपाल आइसकेको छ ।

आइतबारसम्म साउदीबाट ३९, मलेसियाबाट ३८, कतारबाट ३०, यूएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ नेपालीको शव आएको छ । यी शव बुझ्न मृतकका परिवार काठमाडौं आउन नसकेमा बोर्ड आफैंले शव बुझेर घरसम्म पुर्‍याइदिने व्यवस्था समेत गरेको छ । यसअवधिमा १३२ जना नेपालीको भने सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिएको छ । त्यसवापत सरकारले मृतकका परिवारलाई नेपालमा किरियाखर्च उपलब्ध गराएको थियो ।

बोर्डका अनुसार अझै खाडी तथा मलेसियासँगै विभिन्न देशमा गरी १०५ जना नेपालीको शव स्वदेश ल्याउन बाँकी रहेको छ । अहिले सबैभन्दा धेरै शव साउदीमा छन् । साउदीमा ५२, मलेसियामा १९, यूएईमा १३, कतारमा ७, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न देशमा ७ जना गरी १०५ नेपालीको शव गन्तव्य देशमै रोकिएका छन् ।