समाचार

साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्‍यु ८ घाईते

साउथ क्यारोलाइनाको ग्रिनभिलस्थित एक नाईट क्लबमा आईतबार गोली चल्दा २ जनाको मृत्‍यु भएको छ भने ८ जना घाईते भएका छन् । क्लब ल्याबिस भित्र गोली चलेको आवाज सुनेपछि त्यही क्षेत्रमा गस्तीमा हिंडेका प्रहरी अधिकारीहरु क्लब भित्र छिरेर उद्धार गरेका थिए । सन्धिग्द अपराधीको पहिचान भै सकेपनि क्लब भित्र गोली चलाउनुको कारण भने हालसम्म थाहा नभएको ग्रिनभिल काउन्टी सेरिफ हबर्ट लुईसले बताएको एनबिसि न्युजले जनाएको छ । आईतबार बिहान १ बजेर ५० मिनेट जाँदा गस्तीमा रहेका प्रहरी अधिकारीले घटनास्थलबाट गोली चलेको आवाज आएको र मानिसको भिड कुददै गरेको देखेपछि प्रहरीहरु क्लबमा गएको समेत काउन्टी सेरिफ लुईसले बताएका छन् ।

क्लब भित्र गोली चलाउने ब्यक्ति एक वा एक भन्दा बढी थिए भन्ने कुरा प्रष्ट नखुलेको र गोली चलाउनुको उद्देश्य नखुले पनि ग्याङ्सँग सम्बन्धित हुन सक्ने प्रहरी श्रोतले बताएको छ । घाईतेहरुलाई उपचारको लागि नजिकको अस्पतालमा लागिएको छ ।