फिचर

दोस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प सपना ;साँघुरिँदै सम्भावना

प्रभात भट्टराई /अमेरिका

अमेरिकामा राष्ट्रपतिको चुनाव आउन चार महिना मात्र बाँकी छ । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिने जुन तयारीमा पछिल्ला तीन बर्ष संघर्षरत थिए चुनाव नजिकिँदै जाँदा उनको संभावना थप न्यून बन्दै गएको छ । कोरोना भाइरस महामारी माथिको सुरु देखिको वेवास्ता र काला जातीका नागरिक माथि सामाजीक न्यायका लागि भएका आन्दोलनप्रतिको बक्र दृष्टिले उनको लोकप्रियता थप धरापमा परेको हो ।

ट्रम्प यस्ता अमेरिकी राष्ट्रपति हुन् जसले निर्वाचित भएपछि विश्वासिला मत सर्भेक्षणहरुमा कहिल्यै ५० प्रतिशत लोकप्रियता (जब एप्रुभल रेटिङ) आर्जन गर्न सकेका छैनन् । सिनेटमा महाभियोग प्रस्ताव फेल भएपछि गत फेब्रुअरीमा उनको लोकप्रियता केही उकालो लाग्न थालेको थियो । मार्च अन्त्यमा उनले राष्ट्रपति पद सम्हाले यताकै उच्च एप्रुभल रेटिङ आर्जन गरेका थिए । रियल क्लियर पोलिटिक्सले प्रकाशित गरेको तथ्यांक अनुसार त्यसबेला उनको औषत लोकप्रियता ४७ प्रतिशतसम्म पुगेको थियो । उनको औषत अलोकप्रियता पनि साढे ४९ प्रतिशतसम्म झरेको थियो । तर, कोरोना भाइरस संक्रमण र मृत्युदर बृद्धिसँगै उनको लोकप्रियता खस्किन थाल्यो । अप्रिल अन्तिम साता मिनिसोटा प्रहरीले निशस्त्र अवस्थामा पक्राउ गरि काला जातीका जर्ज फ्लोयडको हत्या गरेपछि सुरु भएको नागरिक आन्दोलनप्रतिको ट्रम्पको रवैयाले उनको लोकप्रियता ४० प्रतिशतमा खुम्च्याइदिएको छ भने अलोकप्रियता ५५ प्रतिशत हाराहारी पुगेको छ ।

राजनीतिक सर्भेक्षणहरुको तथ्यांक संकलन गरेर औषत आँकडा निकाल्ने रियल क्लियर पोलिटिक्स र फाइभथर्टीएट दुबै साइडमा अहिले ट्रम्पको लोकप्रियता न्यून बिन्दुमा छ । रियल क्लियर पोलिटिक्सको मंगलबारको औषत तथ्यांक अनुसार ४१.७ प्रतिशत सर्वसाधारणले ट्रम्पको काम कारबाही मन पराएका छन् भने ५६.२ प्रतिशतले ट्रम्पप्रति असन्तुष्टि जनाएका छन् । सन् २०१७ को डिसेम्बर यता ट्रम्प सबैभन्दा अलोकप्रिय अवस्थामा आइ पुगेका हुन् । त्यसबेला उनको काम नरुचाउने अमेरिकीको संख्या ५७ प्रतिशत थियो ।

यस्तै फाईभ थर्टी एटको औषत तथ्यांक अनुसार मंगलबार ट्रम्पको जब एप्रुभल रेटिङ ४०.६ प्रतिशत एवं उनको काम नरुचाउने संख्या (डिस्एप्रभुल) ५५.८ प्रतिशत रहेको छ । दोस्रो कार्यकालका लागि चुनाव हारेका पूर्व अमेरिकी राष्ट्रपति जर्ज एचडब्लु बुसको अलोकप्रियता चुनावको चार महिना अघि ट्रम्पकोभन्दा सन्तोषजनक थियो भने जिम्मी कार्टर यही अवस्थामा थिए । अरु कुनै पनि राष्ट्रपतिको अवस्था यति अलोकप्रिय थिएन ।

सोमबार सार्वजनिक ग्यालप न्यूजको सर्वेक्षण अनुसार ट्रम्पको लोकप्रियता ३८ प्रतिशतमा खस्किएको छ भने उनको अलोकप्रियता ५७ प्रतिशत रहेको छ । ग्यालपको सर्भेक्षणमा ट्रम्पको लोकप्रियता लामो समय ४० प्रतिशतभन्दा कम या हाराहारी रहेको थियो । गत जनवरीमा पहिलो पटक उनको काम मन पराउनेको संख्या ४९ प्रतिशत पुग्यो । त्यसबेला उनको कामप्रति ऋणात्मक नम्बर दिने भने ५० प्रतिशत थिए । मार्चमा फेरि ४९ प्रतिशतले ट्रम्पको काम मन पराएको जवाफ दिए । त्यसबेला उनको काम कारबाही मन नपराउनेको संख्या ४५ प्रतिशतमा झरेको थियो । ग्यालपको सर्भेक्षणमा ट्रम्पको सबैभन्दा राम्रो नतिजा नै त्यही सावित हुन पुग्यो । सन् १९४५ देखि अमेरिकी राष्ट्रपतिको लोकप्रियता सर्वे गर्दै आएको ग्यालपमा ट्रम्पको एप्रुभल रेटिङले कहिल्यै ५० प्रतिशत पासमार्क छुन सकेन ।

ट्रम्पप्रति निराश मतदाता बढेसँगै उनी डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग पनि ठूलो अन्तरमा पछि परेका छन् । रियल क्लियर पोलिटिक्सको औषत तथ्यांक अनुसार अहिले बाइडेनलाई ४९.६ प्रतिशत अमेरिकीको समर्थन रहेको छ । पोलिटिक्सले पछिल्लो साता सार्वजनिक बिभिन्न सात सर्भेक्षणहरुको औषत विवरण प्रकाशित गरे अनुसार ट्रम्पप्रतिको समर्थन ४०.९ प्रतिशत मात्र रहेको छ । यस्तै फाइभथर्टीएटको औषत विवरणमा पनि बाइडेन समान अनुमातमा अगाडि छन् । बाइडेनले ५१.१ प्रतिशत समर्थन पाउँदा साढे ४१ प्रतिशतले ट्रम्पलाई मतदान गर्ने बताएका हुन् ।

२०१६ र अहिलेको अवस्थामा के फरक ?

द्वितिय विश्वयुद्ध यता लोकप्रियता यति न्यून बिन्दुमा खस्किएका कोही पनि अमेरिकी राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचित हुन सकेका छैनन् । ट्रम्प समर्थकहरु २०१६ मा पनि सर्भेक्षणमा उनी पछि देखिएको तर नतिजा विपरित आएको दावी गर्दै आएका छन् । तर , अहिलेको अवस्था र २०१६ मा ठूलो अन्तर देखिएको छ । मुलतः अहिले ट्रम्प वहालवाला राष्ट्रपति हुन् । चार बर्ष अघि बाहिरको व्यक्ति थिए र वासिंटनको राजनीतिमा लामो समय सकृय पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई चुनौति दिँदै थिए । यस अनुरुप सत्ताको वहालवाला राजनीतिज्ञको वेफाइदा क्लिन्टनलाई थियो जुन अहिले ट्रम्पलाई रहेको छ । ट्रम्पको काम कारबाहीप्रति बहुमत जनता खुसी नभइ उनले दोस्रो कार्यकालको जिम्मेवारी पाउन सक्दैनन् । अनेक विवादमा परे पनि निर्वाचित भएयता अमेरिकी अर्थतन्त्र निरन्तर उकालो लागेको थियो । बाराक ओबामाले २००८ को मन्दीबाट उठाएर सबल अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । ट्रम्प निर्वाचित भएपछि पनि बेरोजगारीदरमा निरन्तर गिरावट आयो ।

ट्रम्प अत्यन्त कमजोर अवस्थाको अर्थतन्त्र आफुले एक्लो पहलमा उठाएको शैलीमा उपलब्धिको बखान लगाउन व्यस्त थिए । तर, कोरोना भाइरस संक्रमणले उनको आर्थिक उपलब्धिको दावीमा नराम्रो ब्रेक लगाइदियो । अहिले अमेरिका सन् १९३७ को गम्भिर आर्थिक मन्दीपछिकै धेरै बेरोजगारी ( ११ प्रतिशत बढि) को अवस्थामा रहेको छ । सन् २०२० को अन्त्यसम्म बेरोजगारी दोहोरो अंकमै रहने अमेरिकी फेडरल रिजर्भ बैंकको प्रक्षेपण रहेको छ । कोरोना भाइरस संक्रमण र मृतकमा संसारकै एक नम्बर, सामाजीक न्यायको आन्दोलन प्रति बहुमत अमेरिकीभन्दा फरक धारणा र कमजोर आर्थिक आँकडाबीच सर्भेक्षणमा ठुलो अन्तरले पछि परेको कारण यसपाली २०१६ दोहोरिने सम्भावना नगन्य रहेको विश्लेषकहरुको राय छ ।

अझ चार बर्ष अघिको प्रतिश्पर्धा दुई अलोकप्रिय उम्मेद्वारको बीचमा रहेको थियो । तर, अहिले त्यसको ठिक विपरित अवस्था छ । सन् २०१६ मा हिलारी क्लिन्टनको तुलनामा अहिले जो बाइडनेको लोकप्रियता धेरै उच्च देखिएको छ । रियल क्लियर पोलिटिक्सको औषत आँकडा अनुसार सन् २०१६ को जुन अन्त्यमा हिलारी क्लिन्टन ट्रम्पभन्दा साढे चार प्रतिशत बिन्दुले अघि थिइन् । अहिले बाइडेन त्यसको दोब्बर अग्रताको अवस्थामा छन् । कुनै कुनै सर्भेक्षणमा क्लिन्टनले ट्रम्पलाई दोहोरो अंकले पनि उछिनेकी थिइन् । तर, त्यती हुँदा पनि हिलारीलाई मत हाल्ने बताउने संख्या ४५ प्रतिशत हाराहारी मात्र थियो । अर्थात् निर्णय गर्न बाँकी मतदाताको संख्या धेरै थियो । ट्रम्पले तिनै मतदाता केन्द्रित प्रचार नीति बनाए र सफल पनि भए । तर, अहिले बाइडेनलाई मतदान गर्ने बताउनेको संख्या ५० प्रतिशत या त्यसको आसपास छ । कुनै उम्मेद्वारले आधा मत पाइ सकेपछि विपक्षीले जति भोट ल्याए पनि या जति मतदाता अनिर्णित रहेपनि निर्वाचन परिणामलाई फरक पर्दैन ।

बाइडेनको अहिलेको अग्रता २००८ मा जोन म्याकेन बिरुद्ध बाराक ओबामाको भन्दा पनि सहज छ । सन् २००८ को जुन अन्त्यमा ओबामा म्याकेनभन्दा साढे पाँच प्रतिशत बिन्दुले अघि थिए ।

बाइडेनका लागि सबैभन्दा सवल पक्ष उनीप्रति सकारात्मक (फेवरेवल) भाव राख्ने अमेरिकीको संख्यामा देखिएको छ । अघिल्लो साता सार्वजनिक प्यु रिसर्चको सर्भेक्षण अनुसार ४८ प्रतिशत अमेरिकीले बाइडेनलाई इमान्दारको संज्ञा दिएका छन् । ट्रम्पलाई इमान्दार मान्नेको संख्या ३६ प्रतिशत मात्र छ । प्राय सबै सर्भेक्षणमा बाइडेनलाई इमान्दार मान्नेको संख्या ४५ देखि ५० प्रतिशत रहेको छ भने ट्रम्प ३५ प्रतिशत आसपासमै छन् । चार बर्ष अघि पनि ट्रम्पको अवस्था यही थियो तर उनका प्रतिश्पर्धी पनि उनीभन्दा खास लोकप्रिय थिइनन् । त्यसबेला क्लिन्टनलाई इमान्दार मान्ने पनि ३६ प्रतिशतको आसपास थिए ।

रियल क्लियर पोलिटिक्सको औषत आंकडा अनुसार अहिले ट्रम्पप्रति सकारात्मक भाव राख्ने अमेरिकी ४० प्रतिशत छन् भने उनलाई मन नपराउने ५६ प्रतिशत । बाइडेनको औषत फेवरेवलिटी भने साढे ४४ प्रतिशत छ । उनीप्रति नराकात्मक भाव राख्नेको औषत संख्या भने ४६ प्रतिशत छ । यसरी ट्रम्पको फेवरिवलिटी ऋणात्मक १५ प्रतिशत हुँदा बाइडेनको ऋणात्मक साढे एक प्रतिशत रहेको छ । बाइडेनप्रति तटस्थ अमेरिकी १० प्रतिशत हाराहारी छन् । अझ रिपब्लिकन झुकावको फक्स न्यूजको पछिल्लो सर्भेक्षणमा ५३ प्रतिशत अमेरिकीले बाइडेनप्रति सकारात्मक धारणा बताएका थिए । जबकी चार बर्ष अघि क्लिन्टनको फेवरिविलिटी ऋणात्मक १३ प्रतिशत थियो ।

सुरु देखिनै अलोकप्रिय रहेकी क्लिन्टनलाई जब चुनावको मुखमा तात्कालिन एफबिआई निर्देशक जिम कोमीले इमेल काण्डमा छानविन जारी रहेको बताए त्यसले अन्तिम समयमा ट्रम्पलाई भोट हाल्नेको संख्या बढ्न पुगेको विश्लेषकहरुको राय छ । धेरैले त्यसबेलाको नतिजा पछि सर्वेक्षणहरुलाई गाली गरे पनि अवस्था त्यस्तो होइन । चुनावको मुखमा गरिएका मत सर्वेक्षणहरुमा हिलारी क्लिन्टन तीन प्रतिशत बिन्दुले ट्रम्पभन्दा अघि थिइन् । नभन्दै निर्वाचनको लोकप्रिय मतमा क्लिन्टन ट्रम्पभन्दा दुई प्रतिशत बिन्दुले अघि रहिन् । डेमोक्र्याटले जित्दै आएका मिसिगन, पेन्सिलभेनिया र विसकनसन गरि तीन राज्यमा ७८ हजार मतान्तरको जितले ट्रम्पलाई चाहिने जति इलेक्टोरकल कलेज मत प्राप्त भयो र उनी राष्ट्रपति निर्वाचित भएका थिए । यी राज्यमा त्यसबेलाको मत सर्वेक्षणमा पनि बलियो प्रतिश्पर्धा हुने देखिएको थियो । अहिले यी तीन राज्य सहित एरिजोन, फ्लोरिडा, नर्थ क्यारोलिना जस्ता राज्यमा पनि बाइडेनको अवस्था क्लिन्टनभन्दा सहज देखिएको छ । डेमोक्रेटिक मतदातामा चुनाव प्रतिको उत्साह त कोरोना भाइरस महामारीबीच प्राइमरी निर्वाचनमा भोट हाल्नेको संख्या बृद्धिले नै पुष्टि गरि सकेको छ । त्यसैले २०१६ मा जसरी आम अनुमान विपरित ट्रम्प राष्ट्रप्रति निर्वाचित भए यसपाली त्यो  ‘चमत्कार’ दोहोरिने संभावना करिब करिब शुन्य रहेको सबै प्रक्षेपणहरुले देखाएका छन् ।