फिचर

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको छ । २ असारमा घुससहित रंगेहात पक्राउ परेका ६ जना कर्मचारीको बयानपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो । २ असारमा डिल्लीबजार मालपोत कार्यालय अधिकृत रघुवंश कँडेल सहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ परेका थिए ।

जग्गाको कित्ताकाट गर्ने आदेश गराईदिए बापत उनीहरुले सेवाग्राहीसँग घुस लिएको अख्तियारको भनाई छ । ती कर्मचारीको बयानपछि अधिकारी अख्तियारको फन्दामा परेका हुन् । आफु मातहतका कर्मचारी पक्राउ परेपछि अधिकारीलाई डिल्लीबजार मालपोतबाट भूमि व्यवस्थापन तथा अभिलेख विभागमा काजमा फिर्ता गरिएको थियो।

अख्तियारले घुस प्रकरणबारे थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रवक्ता प्रदीप कोइरालालाई उदृत गर्दै नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् । सामाखुसीस्थित स्टार पार्टी प्यालेशबाट अधिकृत रघुवंश कँडेल, खरिदार दिपक खनाल, नासु उद्धव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्का अख्तियारबाट रंगेहात पक्राउ परेका थिए ।