स्वास्थ्य

डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सदस्यताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । ट्रम्प सरकारले यस अघि नै डब्लूएचओबाट अलग हुने घोषणा गरेको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिका औपचारिक रुपमै डब्लुएचओबाट अलग भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाले महामारी लिन थालेसँगै यो संस्थाको कडा विरोध गर्दै आएका थिए । उनले संगठनले चीनलाई मात्र सहयोग गरेको र अमेरिकालाई समयमै उचित सुझाव दिन नसकेको बताउँदै आएका थिए । यो संयुक्त राष्ट्रसंघ मातहतको एक निकाय हो ।

संगठनमा यसअघि अमेरिकाले सबैभन्दा ठूलो धनराशी सहयोग गर्दै आएको थियो । अमेरिकाले हात झिकेपछि संगठनमा अहिले चीनको सहयोग बढेको छ । राष्ट्रपति ट्रम्पले विश्वभर कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणमा समेत प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको आरोप डब्लुएचओमाथि लगाएका छन् ।

अमेरिकाको यो आरोप र असन्तुष्टि तथा उसका कदमप्रति विश्वका अन्य मुलुक भने सहमत छैनन् । संगठनले समेत अमेरिकाको यो कदमलाई दुखदः भनेको छ ।

डब्लुएचओबाट अमेरिका बाहिरिने र डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने बारे अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । अमेरिका संगठनबाट बाहिरिने सम्बन्धी पत्र अमेरिकाले राष्ट्रसंघका महासचिव समक्ष पठाएको छ ।