समाचार

सिन्धुपाल्चोकमा बाढी र पहिरोको कहर, डेढ दर्जन वेपत्ता-२ को शव भेटियो

प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो मानवीय षति निम्त्याएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा मात्र बाढीले करिब एक दर्जन घर बगाएको छ ।

यहाँ कम्तिमा १६ जना मानिस वेपत्ता रहेको अनुमान प्रहरीले गरेको छ । यस क्षेत्रमा रहेको जलविद्यूत आयोजनामा समेत बाढीले क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको नदी किनारमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ । जम्बु र भोटेकोशी गाउँपालिकामा बढी क्षति भएको छ । बाढीले जम्बु बजार बगाएको प्रहरीले जानकारी गराएको छ ।

बाढीले अरनिको राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याउँदा आवतजावत बन्द भएको छ । जुरे पहिरो नजिक अरनिको राजमार्ग अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल समेत बाढीले बगाएको प्रहरीले उल्लेख गरेको छ ।

अहिलेसम्म दुई जनाको शव भेटिएको जानकारी प्रहरीले दिएको छ । डाडे खोलामा समेत पुल बगेको छ । सिन्धुपाल्चोक पटक पटक बाढी र पहिरोको चपेटामा पर्दै आएको छ ।