स्वास्थ्य

नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी

फाइलफोटो

काठमाडौं । नेपालमा बिहीबारबाट कोरोनाको ग्राफ ओरालो लागेको छ । बिहीबार कोरोना भाइरसका संक्रमित थप हुने संख्या भन्दा विभिन्न अस्पतालबाट डिस्चार्ज हुने व्यक्तिको संख्या धेरै भएको छ । अर्कोतर्फ पछिल्लो तीन दिन यता नेपालमा कोरोनाका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउनु परेको छैन ।

बिहीबार २४ घण्टामा १ सय ८ जना नयाँ संक्रमित थपिए । यस अवधिमा १३९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर २५ वटा प्रयोगशालाबाट २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण भएको थियो ।

जसमा १ सय ८ जना मात्र नयाँ संक्रमित थप भए । अब नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । मन्त्रालयका अनुसार देशभर क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना मानिस छन् ।

बिहीबार डिस्चार्ज भएका १ सय ३९ सहित अब देशभर ७ हजार ८ सय ९१ जना संक्रमित कोरोना निको भएर घर फर्किएका छन्। अहिले देशभर आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका छन्।