डायस्पोरा

समुदायमा अन्तरकृया बढाउँदै सिटिजनसिप एन्ड इमिग्रेसन टाष्कफोर्स

न्यूयोर्क

गैर आवासीय नेपाली संघ, अमेरिका च्याप्टर (एनआरएनए एनसिसी) अन्तरगतको सिटिजनसिप एन्ड इमिग्रेसन टाष्कफोर्सले समुदाय केन्द्रित गतिविधीलाई तीब्रता दिएको छ ।

नेपाली नागरिकता निरन्तरता एवं अमेरिकामा आप्रवासन सहजीकरणका लागि गठन भएको टाष्कफोर्सले जनचेतना अभिबृद्धि देखि समस्यामा परेका व्यक्तिहरुलाई प्रत्यक्ष सहयोग समेत उपलब्ध गराइ रहेको छ । नेपालमा नागरिकता विधेयक संसदकाे राज्य व्यवस्था समितिबाट पारित हुने वित्तिकै टाष्कफोर्सले कानूनविद् एवं एनआरएनए अभियन्ताहरु समेतको उपस्थितीमा भिडियो कन्फ्रेन्स आयोजना गरेको थियो । फेसबुक मार्फत लाइभ गरिएको कन्फ्रेन्समा नेपालको नागरिकता विधेयकले व्यवस्था गरेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानबारे चर्चा भएको थियो ।

नेपालको संविधानले प्रदत्त गरे बमोजिम सार्क मुलुक बाहेकका देशको नागरिकता लिएका नेपालीलाई सामाजीक, आर्थिक र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा गरिएको छ । कोरोना भाइरस संक्रमण सुरु हुने वित्तिकै टाष्कफोर्सले त्यसले आप्रवासनमा पार्न सक्ने प्रभावबारे कानूनविदहरुको उपस्थितीमा अन्तर्कृया आयोजना गरेको थियो । टाष्कफोर्सले कोरोना भाइरस संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिँदा अमेरिकामा अड्किएका नेपालीलाई घर फर्काउन एनआरएनए आइसिसी मार्फत पहल गर्ने औपचारिक निर्णय गरेको थियो । त्यस अनुरुप नेपाल सरकार परराष्ट्र मन्त्रालय, अमेरिका स्थित नेपाली राजदूताबास र एनआरएनए अमेरिका च्याप्टरको अगुवाइमा नेपालीहरुलाई घर फर्काउने कार्य सुरु भइ सकेको छ ।

त्यस बाहेक एनआरएनएको हेल्प डेस्कमा आउने आप्रवासन सम्बन्धि जिज्ञाषाहरुलाई निरन्तर सम्बोधन गरिएको टाष्कफोर्स संयोजक छत्रकुमारी गुरुङले जानकारी दिइन् । सन् २०२० को सुरुवातमा स्थापना गरिएको टाष्कफोर्सले अहिलेसम्म गरेका काम कारबाही र भविश्यको योजनाबारे हालैसम्पन्न एनआरएन अमेरिकाको बार्षिक साधारणसभामा पनि प्रस्तुति दिइएको थियो ।