स्वास्थ्य

अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

न्युयोर्क

नोवल कोरोनाभाइरसको कारण विश्वमा ५ लाख ५१ हजार मानिसले ज्यान गुमाई सकेका छन् । १ करोड २१ लाख ३० हजार मानिस भाईरस संक्रमित भई सकेको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडाले जनाएको छ । कतिपय देशको सरकारले तथ्यांक नै लुकाएर वा पर्याप्त जाँच नगरेर वा संक्रमित व्यक्तिलाई नै संक्रमण भएको पत्तो नभएका कारण अधिकारिक रुपमा देखिएको संक्रमितको कुल संख्या भन्दा निकै धेरैको संख्यामा संक्रमित भएको हुन सक्ने अनुमान समेत गरिएको छ । गत साल डिसेम्बरमा चीनमा पहिलो संक्रमित देखिए यता अमेरिका सबैभन्दा कोरोना प्रभावित देश भएको छ । अमेरिकामा ३० लाख भन्दा धेरै संक्रमित भै सकेका छन् भने १ लाख ३३ हजार भन्दा धेरैको मृत्‍यु भै सकेको छ । त्यसैगरी ९ लाख ६९ हजार १ सय ११ जना निको भएका छन् ।
अमेरिकामा महामारी सुरु भए यता ११ हजार ३ सय १२ गर्भवती महिला संक्रमित भएका छन् भने ३१ जना गर्भवती महिलाको कोरोनाको कारण मृत्‍यु भएको सिडिसिले जनाएको छ । कोरोना संक्रमित ११ हजार ३ सय १२ गर्भवती महिला मध्ये ४ हजार ५ सय ५३ जना हिस्प्यानिक र ल्याटिन समुहका महिला भएको समेत सिडिसिले जनाएको छ । साथै महामारी सुरु भए यता ट्रान्स्पोर्टेसन सेक्युरिटी एड्मिनिस्ट्रेसन (टिएसए) का १ हजार १८ कर्मचारी अमेरिकामा कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ६ सय ४७ निको भए भने ६ जनाको मृत्‍यु भयो । अमेरिकाको बिमानस्थलमा काम गर्ने टिएसए कर्मचारी सबैभन्दा धेरै संक्रमित भएको छ ।न्युयोर्कस्थित जोन अफ केनेडी बिमानस्थलमा १ सय १६ जना संक्रमित भए भने न्युजर्सीस्थित नेवार्क लिबर्टि ईन्टर्नेसनल एयरपोर्टमा काम गर्ने ६९ टिएसए कर्मचारी संक्रमित भए ।
मिसिसिपीका १३ वटा काउन्टीमा मास्क अनिबार्य गरिएको छ भने न्युयोर्क राज्यका मेयर ब्लजियोले सेप्टेम्बर अन्त्यसम्म कुनै पनि ठुलो भिडभाडको कार्यक्रम आयोजना खुला नगर्ने घोषणा गरेका छन् ।
कोरोना महामारीको सुरुवातमा एपिसेन्टर बनेको न्युयोर्क र न्युजर्सीको जीवन सामान्यिकरण तर्फ उन्मुख भएको छ ।न्युयोर्क राज्यमा बुधबार ५ सय ८४ जना संक्रमित भेटिएका छन् भने बुधबार ८ जनाको मृत्‍यु भएको छ ।

नर्थ क्यारोलाइनामा अस्पताल भर्ना हुनेको बिहिबार नयाँ रेकर्ड

नर्थ क्यारोलाइनामा आजसम्म कै धेरै कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । गभर्नर रोई कुपरले नर्थ क्यारोलाइना राज्यमा बिहीबार १ हजार ३४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएको बताए । गभर्नर कुपरले अझै अस्पताल र आईसियुको क्षमता प्रशस्त भएको बताए पनि स्वास्थ अधिकारीहरुले भने सार्लेट क्षेत्रका अस्पतालमा निकट भविष्यको लागि चिन्ता ब्यक्त गरेका छन् ।

टेक्सास, क्यलिफोर्निया र फ्लोरिडामा दैनिक मृत्‍यु हुनेको संख्यामा बिहिबार नयाँ रेकर्ड

क्यालिफोर्निया राज्यले बिहीबार कोरोनाबाट मृत्‍यु हुनेको दैनिक संख्यामा नयाँ रेकर्ड राखेको छ । त्यहाँ बिहीवार १ सय ४९ जनाको मृत्‍यु भएको गभर्नर गेभिन न्यु समले बताए ।

यो संख्या क्यालिफोर्नियामा महामारी सुरु भएपछि मृत्‍यु हुनेको दैनिक कुल संख्यामा आजसम्म कै उच्च हो ।यो संख्यासंगै त्यहाँ ६ हजार ७ सय ११ को मृत्‍यु भएको छ । क्यालिफोर्नियामा बुधबार ११ हजार ६ सय ९४ संक्रमित थपिए भने ६ हजार १ सय २७ जना अस्पताल भर्ना भएका छन् । त्यसमध्ये १७ सय ५२ जना आईसियुमा उपचारत छन् ।
फ्लोरिडाले पनि दैनिक मृतक संख्यामा बिहिबार नयाँ रेकर्ड राखेको छ । बिहिबार फ्लोरिडामा १ सय २० जनाको मृत्‍यु भयो । यो संख्यासंगै बिहीबारसम्म फ्लोरिडामा ४ हजार जनाको मृत्‍यु भएको छ । बिहीबार ९ हजार नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या २ लाख ३२ हजार ७ सय १८ पुगेको छ ।
टेक्सासमा पनि कोरोना संक्रमितको दैनिक मृत्‍यु हुनेको संख्यामा बिहिबार नयाँ रेकर्ड कायम भयो । बिहीबार टेक्सासमा ९८ जनाको एकै दिन मृत्‍यु भएपछि त्यहाँ २ हजार ९ सय ४३ को मृत्‍यु भै सकेको छ । टेक्सासमा मंगलबारदेखि लगातार मृत्‍यु हुनेको संख्यामा बृद्धि हुँदै गएको छ । बिहिबारसम्म टेक्सासका अस्पतालमा ९ हजार ६ सय ८९ भर्ना भएर उपचार गराईरहेका छन् । टेक्सासमा कुल संक्रमितको संख्या २ लाख ३० हजार पुगेको छ ।

एरिजोनामा अस्पताल भर्ना हुने र भेन्टिलेटरमा उपचारतको संख्यामा नयाँ रेकर्ड

एरिजोना राज्यमा बिहीबार अस्पताल भर्ना हुने र भेन्टिलेटरमा रहेर उपचार गरी रहेका बिरामीको नयाँ रेकर्ड कायम भएको छ । बिहिबारसम्म एरिजोनाको अस्पतालमा ३ हजार ४ सय ३७ जना भर्ना भएर उपचार गरिरहेका छन् भने त्यसमध्ये ५ सय ७५ जना भेन्टिलेटरमा छन् । बिहीबार एरिजोनामा ७५ जनाको मृत्‍यु भयो । यो संख्यासंगै त्यहाँ २ हजार ३८ जनाको मृत्‍यु भै सकेको छ । एरिजोनामा बिहीबार ४ हजार ५७ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँ १ लाख १२ हजार ६ सय ७१ संक्रमित पुगेको छ ।