विश्व

भारतीय गुण्डा नाइके विकास दुवे इन्काउन्टरमा मारिए

कानपुर । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीले पक्राउपछि थानामा लैजाने क्रममा प्रहरीकै हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी गरेको छ । उनलाई प्रहरीले बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ गरेको थियो । मन्दिरमा इन्काउन्टर नहुने भएकाले उनी त्यहा गएको बताइएको छ ।

उत्तर प्रदेशमा भने इन्काउन्टर धेरै हुने गरेको छ । उनी भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरका कुख्यात डन थिए । उनको समुहले केही दिन अगाडी वरिष्ठ प्रहरी अधिकृतसहित ८ जनाको हत्या गरेको थियो । प्रहरीले शुक्रबार बिहान उनलाई कानपुर लग्दै थियो ।

भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । त्यसपछि विकास दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरे र जवाफी कारबाहीमा उनी मारिए ।

दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनलाई अस्पताल लैजाँदै गर्दा बिहान सात बजेर ५५ मिनेटमा दुवेको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ ।