समाचार

बाढी पहिरोले देशभर शुक्रबार १८ जनाको मृत्यु, ४१ जना अझै वेपत्ता

काठमाडौं । शुक्रबार प्राकृतिक विपत्तिका कारण नेपालमा ठूलो मानवीय क्षति भएको छ । मनसुन प्रारम्भ भएपछिको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशभर १८ जनाको मृत्यु भएको छ । ४१ जना वेपत्ता रहेका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा ३–३ जना र रुकुममा २ जनाको मृत्यु भएको छ ।

म्याग्दीमा ३१, जाजरकोटमा ९ र रुकुममा एक जना गरी ४१ जना बेपत्ता छन्। उता, बुधबार राति सिन्धुपाल्चोक पहिरोमा परी २ जनाको मृत्यु भएको थियो । सिन्धुपाल्चोकमा १८ जना अझै बेपत्ता रहेका छन् । जेठ ३१ मा पर्वतको कुस्मामा गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो। असार २० मा बझाङको केदारस्यु गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको थियो ।

यसवर्ष मनसुन सुरु भएयता मृत्यु हुनेको संख्या ३५ पुगेको छ । वेपत्ताको खोजी कार्य जारी रहेको केन्द्रले जनाएको छ । म्याग्दीमा पटक पटक हेलिकोप्टर लैजान खोजेपछि आज सम्भव भने भएन ।