स्वास्थ्य

म यो उमेरमा मर्न चाहन्न !

सुवास तामाङ, रसुवा 

म दुर्गम हिमाली जिल्ला रसुवाको ग्रामिण परिवेशमा जन्मे, हुर्कें । सडक र बिजुलीको सपना देखेरै बाल्यकाल बित्यो । आम पहाडी गरिबको बच्चाले भोग्ने सबै अभाव व्यहोरें । कलेज गएर उच्च शिक्षा हाँसिल गर्ने रहर घर-व्यवहारको बोझले छिन्यो । मन परेको केटी बिहे गरें । छोरा जन्मियो । आर्थिक अभावको कारण बाध्य भएर बिदेश गई केही कमाएर ल्याएँ । जसोतसो गरी बैंकबाट ऋण निकाली एउटा मिनी ट्रक निकालेर चलाउन थालें । मेरो दुर्भाग्य; ट्रक पल्टियो । गुल्टिएर त्रिशुली खोलामा पुग्यो । धन्न म सहित अन्य मरेनौं । हामी घाइतेलाई उपचार गर्न काठमाडौं लगियो । त्यतिबेला म २६ वर्षको थिएँ । त्यसैबेला मेरो ‘मृगौलाले काम गरेको छैन’ रहेछ भन्ने थाहा भयो । म छाँगाबाट खसेजस्तो भएँ । सानो नाबालक छोराको अनुहार सम्झेर म बेहोस् सरह थिएँ । श्रीमतीले छोरा समातेर रातभर रुदै अस्पालको भुँईमा सुतेको हेर्न सक्दैनथे । रोएर मेरो आँसु सुक्यो । उपचार गर्दै भएको अलिअलि पनि सकियो । डाक्टरले तुरुन्तै डायलासिस गर्नु पर्छ भनेर फिस्टुला बनायो । ५ वर्षदेखि हेमो डायलासिस गराउँदै आएको छु । मेरो मृगौला फेल भएको पाँचौं चरणमा पुगि सकेकोले हप्ताको ३ पटक डायलासिस गर्नु पर्छ । 


अहिले म ३२ वर्षको भएँ । म आफै बिरामी भएर अस्पताल धाउनु परेकोले घरको आर्थिक अवस्था थप नाजुक भएको छ । सरकारले डायलासिस नि:शुल्क हुने व्यवस्था गरेपनि औषधी किन्न थुप्रै खर्च हुन्छ । डायलासिस गर्न काठमाडौं नै बस्नु पर्ने भएकोले खान बस्न धेरै खर्च हुन्छ । युवाअवस्थामा यसरी बाँच्न कै लागि हारगुहार गर्नुपर्दा साह्रै अफ्ठेरो लाग्छ । तर मसँग बिकल्प छैन । बाबुआमा, श्रीमती र छोराकै लागि भएपनि म बाँच्नु पर्छ भन्ने लाग्छ । म यो उमेरमा मर्न चाहन्न ।

मैले अझैपनि भ्याएसम्म पहिलेजस्तै सामाजिक कार्यमा हिड्ने गरेको छु । मेरो मनोबल र बाँच्ने चाहना देखेर मेरो परिवारले एउटा मृगौला दिन तयार भएको छ । तर पटक पटक सबै चेकअप गरेर प्रारम्भिक तयारी गरिसक्दा पनि उपचार खर्च अभावका कारण मृगौला प्रत्यारोपणको कार्य हुन सकेको छैन । गरिब भएर बाँच्नु, त्यो माथि पनि डरलाग्दो रोगको चपेटामा पर्नु साह्रै गाह्रो रहेछ । अझ सानो बच्चा देख्दा बोल्नै सक्दिन । हाम्रो देशको सरकारी अस्पतालमा पनि निशुल्क उपचार हुँदैन । मृगौला प्रत्यारोपणको लागि मेरो परिवारले आफ्नो सद्दे किड्नी दिन्छु भन्दापनि उपचार खर्च नभएकोले मैले उपचार पाएको छैन ।
IMG_9156 (डायलासिसको भिडियो)
 

मान्छेले बाँच्नको लागि जे पनि गर्नु पर्दो रहेछ । समयले मलाई माग्नुपर्ने बनाएको छ । मैलै सकेको बेला सबैलाई दिएरै खुसी राख्न खोजें । म अरुको त्यत्तिकै लिन नसक्ने स्वाभावको मान्छे हुँ तर आज बाँच्नको लागि माग्दै छु । देशभित्रै चिनेजानेकालाई भनें । अलिअलि दिएका पनि छन् । त्यसैले औषधी किन्न, खान र हिड्न थेगेको छु । तर मलाई किड्नी अर्को राख्न १५ लाख जति उपचार खर्च लाग्ने भएकोले बिदेशमा बस्ने सबैसँग अलिअलि सहयोग गरिदिन हुन अनुरोध गर्दछु । सबै सहयोगीको नाम लेखेर जीवनभर डायरीमा लेखेर राख्नेछु । म मरें भने मेरो बच्चा र श्रीमतीको के हालत होला जस्तो लाग्छ । पिर, अभाव अनि रोग लिएर बाँच्नुको पिडा कसरी सबै बताउन सकुँला । कृपया थोरै भएपनि सहयोग गरेर मेरो बाँच्ने आशा जोगाई दिनु है । मेरो मोबाइल नम्बर : ९८१३९७२४६१

(सुवास तामाङ्सँग विश्वन्युजका योगेश आदीले गरेको कुराकानीमा हुबहु आधारित)