स्वास्थ्य

डेढ महिनापछि नेपालमा एक दिनमा सबैभन्दा कम संक्रमित भेटिए

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीका बीच शनिबार एक खुसीको खबर सार्वजनिक भएको छ । करीव डेढ महिना यता पहिलो पटक सबैभन्दा कम संख्यामा कोरोना भाइरसको संक्रमित फेला परेका छन् । नयाँ संक्रमितको संख्या दुई अंकमा झरेको छ भने सक्रिय संक्रमितभन्दा निको हुने संख्या समेत अब धेरै भएको छ ।

अर्कोतर्फ एकै दिन नयाँ थपिने संक्रमित भन्दा डिस्चार्ज हुने संख्या समेत नेपालमा धेरै भएको छ । यस्तो भने पछिल्लो तीन दिन यता जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण गरिएको छ । जसमा मात्र ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डेढ महिनापछि नेपालमा कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको छ । नेपालमा ९ माघमा र १० चैत मा दोस्रो संक्रमित भेटिएका थिए । नेपालमा जेठ १३ सम्म दैनिक थपिएका नयाँ संक्रमितको संख्या २ अंक भित्रै रहेको थियो । जेठ १४ मा पहिलो पटक एकै दिन १ सय भन्दा बढी संक्रमित देखिएका थिए । उक्त दिन ३५८० नमुना परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि लगातार तेस्रो अंकमा रहेको वृद्धि शनिबार भने दुई अंकमा झरेको हो । यसले केही सकारात्मक सन्देश दिएको छ । नेपालमा १९ असारमा एकै दिन सर्वाधिक ७४० जनामा कोरोना देखिएको थियो । नेपालमा अहिले औसतः ४ हजार पिसिआर परीक्षण भइरहेको छ ।