फिचर

नेपालीको उद्दारका लागि तेस्रो चरणमा ४२ उडानलाई अनुमति, ६ देशमा जानेछन् जहाज

काठमाडौं । नेपालीको विदेशका विभिन्न मुलुकबाट भइरहेको उद्दारको तेस्रो चरण बुधबारबाट शुरु हुने भएको छ । सोमबार र मंगलबार कुनै पनि उडान हुने छैनन् । विमानस्थल, हवाईजहाज तथा अन्य स्थानको सरसफाईका लागि दुई दिन उद्दार उडान बन्द गर्न लागिएको हो । बुधबारबाट भने उडान प्रारम्भ हुनेछ ।

तेस्रो चरणमा नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न ६ देशबाट ४२ वटा उडानको तालिका तय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाए अनुसार बुधबारदेखि एक सातासम्म तेस्रो चरणका उडानहरु हुनेछन् ।

नेपालीको स्वदेश फिर्ती प्रयोजनमा हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबिया, जजिरा एयर र मालिण्डो एयरले उडान अनुमति पाएका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले १६, १६ उडान गर्ने भएका छन् ।

एयर अरेबियाले २, फ्लाई दुबईले २ र मालिन्दो एयरले ४ वटा उडान गर्ने भएका छन् । जजिरा एयरको समेत दुई उडान निश्चित भएको छ ।

आगामी साता यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसियाबाट नेपालीहरुलाई घर ल्याउने कार्यक्रम तय भएको छ । शनिबारसम्म २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किसकेको विमानस्थलको तथ्यांक छ । यसबीचमा कुल १ सय ४९ उडान भएका छन् ।