विज्ञान प्रविधि

नेपालमा कोरोना संक्रमित डिस्चार्जमा रेकर्ड ब्रेक, कसरी सम्भव भयो ?

काठमाडौं । संसारमा कोरोना महामारीले मानिसको स्वास्थ्य अवस्थालाई गम्भीर मोडमा पुर्याएको छ । धेरैजसो विकसित मुलुकले मानिसको ज्यान बचाउन ठूलो संघर्ष गर्नु परेको छ । त्यसको ठिक विपरित कमजोर स्वास्थ्य प्रणाली भएपनि नेपालमा भने कोरोनाको प्रभाव कमजोर देखिएको छ ।

यसको प्रमाण सोमबार एकैदिन १७ सय जना कोरोना संक्रमितले कोरोनालाई जित्नु समेत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार रेकर्ड ब्रेक संख्यामा मानिसले कोरोनालाई जित्न सफल भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएका हुन् । यो कोरोना भाइरसको महामारी केही कम भएको र अब जितउन्मुख भएको संकेतका रुपमा सरकारले लिएको छ ।

विज्ञहरुले भने कोरोनाको दोस्रो लहर शहरी इलाकाबाट शुरु हुने भन्दै सचेत रहनु पर्ने सुझाव दिन्छन् । नेपालमा डिस्चार्ज हुने संक्रमितको संख्या १० हजार २ सय ९४ पुगेको छ। यो सक्रिय संक्रमितको संख्या भन्दा करीव दोब्बर हो । त्यसो पछिल्ला दिनमा नेपालका कोरोनाका नयाँ संक्रमित समेत कम फेला परिरहेका छन् ।

मन्त्रालयका अनुसार अब आइसोलेसनमा ६ हजार ६ सय १३ जना संक्रमित रहेका छन्। नेपालमा कुल संक्रमितमध्ये ६१ प्रतिशतले कोरोनालाई जित्न सफल भएका छन् । नेपालमा कोरोनाको लक्षण बीना नै संक्रमण भएका बिरामीको संख्या धेरै छ । उनीहरुलाई १४ दिन आइसोलेसनमा बसेपछि डिस्चार्ज गर्ने नीति सरकारले लिएको छ । सोहीकारण एकसाथ धेरै संक्रमित डिस्चार्ज भएका हुन् ।

सोमबार देशभर रहेका २५ वटा प्रयोगशालाबाट ५ हजार ८ सय ५६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । जसमा मात्र १ सय ४४ जना संक्रमित थपिएका छन्। अहिले देशभर क्वारेन्टिनमा बस्नेको संख्या भने २३ हजार ४ सय ७० छ।