फिचर

मंगलबारदेखि काठमाडौंमा ४ वटा विद्यूतीय सार्वजनिक बस चल्ने

काठमाडौं । सरकारले ५० प्रतिशत यात्रु राखेर सार्वजनिक यातायात चलाउन खुला गरेको छ । तर, यातायात व्यवसायीले भने सर्वसाधारणलाई सेवा दिन मानिरहेका छैनन् । यसैबीच, सुन्दर यातायातले मंगलबारबाट चार वटा विद्यूतीय बस संचालन गर्ने भएको छ । सरकारले ५० प्रतिशत यात्रु राखेर सवारी संचालन गर्ने दिने निर्णय गरेसँगै ५० प्रतिशत भाडा समेत बढी उठाउन पाउने सुविधा दिएको छ ।

तर, सुन्दर यातायातले भने लकडाउन अगाडिकै भाडादरमा ४ वटा विद्यूतीय बस संचालन गर्न लागेको हो । आधा मात्र यात्रु हाल्न पाइने हुनाले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निणर्य गरे पनि आफूहरू पुरानै भाडामा गाडी चलाउने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले बताएका छन् ।

कम्पनीले २ वटा पुरानै रुटमा र २ वटा नयाँ रुटमा यातायात सेवा सञ्चालन गर्न लागेको छ । कम्पनीका अनुसार दुई वटा बस चक्रपथ परिक्रममा गर्नेछन् । २ वटा नयाँ गाडी सूर्यविनायक–जमल–रत्नपार्क रुटमा चल्न् भएका छन् । गाडीमा नेपाल सरकारले तोकेको भन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइने कम्पनीको दावि रहेको छ ।

यात्रुको लागि त सरकारले तोकेको बाहेक अतिरिक्त सुरक्षा र सुविधा दिने कम्पनीले जनाएको छ । चालक सह–चालकहरुले कम्पनीले उपलब्ध गराएको बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क लगाउने छन् । प्रत्येक यात्रुको तापक्रम जाँचिने भएको छ । मास्क नलगाउने यात्रुलाई चढ्न दिइने छैन।

मास्क नलगाएका ६० वर्ष माथिकालाई भने कम्पनीले निःशुल्क मास्क दिने भएको छ । घातक किटाणुबाट जोगाउन प्रत्यक दिन गाडीलाई स्यानिटाइज गरिने र प्रत्येक ट्रिपपछि पनि हाते पम्पबाट स्प्रे गरिने कम्पनीको भनाई रहेको छ ।