फिचर

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण : कसैको भावनासँग चोट पुर्याउने उद्देश्य होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामबारे दिएको अभिव्यक्तिमा व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टिकरण सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति कसैको भावनामाथि चोट पुर्याउने उद्देश्यले नआएको स्पष्ट पारेको छ । प्रधानमन्त्रीको भारतसहित नेपाल भित्र समेत आलोचना भइरहेको छ ।

सोही सन्दर्भमा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेको हो । मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको स्पष्ट पारेको छ । विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन ।’ ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए ।

परराष्ट्रले प्रधानमन्त्रीले श्रीराम र उहाँसँग सम्वद्ध स्थानबारे धेरै किंवदन्ती रहेको र नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन, अनुसन्धानको महत्वमाथि जोड मात्र दिएको उल्लेख गरेको छ । प्रधानमन्त्रीको टिप्पणीले अयोध्याको महत्व र साँस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य नराखेको मन्त्रालयले बताएको छ ।

विवाह पञ्चमीमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने तथा २०१८ मा दुुई देशका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गर्दै परराष्ट्रले यस्ता तथ्यबाट दुई देश र जनताबीचको सांस्कृतिक समानता झल्कन उल्लेख गरेको छ ।