अर्थतन्त्र

नेपाल उद्योग वाणिज्य महासंघमा दुई प्यानल भिड्ने, चन्द्र ढकालको उमेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि दुई प्यानलमा भिडन्त हुने भएको छ । महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । त्यसकारण पनि उपाध्यक्ष पद विशेष मानिन्छ । यस पटक वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । महासंघको निर्वाचन साउनमा हुँदैछ ।

उपाध्यक्ष चन्द्र ढकालले आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्षमा मंगलबार उम्मेदवारी घोषणा गरे । ढकालले मंगलबार एक कार्यक्रम गरेर आफ्नो प्यानलको घोषणा गरेका हुन्। ढकालको प्यानलमा वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ रामचन्द्र सांघाई, जिल्ला नगर उपाध्यक्षतर्फ गुणनिधि तिवारीले उम्मेदवारी घोषणा गरेका हुन्।

अर्को प्यानलमा व्यवसायी किशोर श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा भिड्नेछन् । उनले भने उमेदवारी घोषणा गरिसकेका छैनन् । गत चैतमा हुनुपर्ने निर्वाचन कोरोना भाइरसका कारण रोकिएको थियो ।