फिचर

नेपालमा कति दिन बस्छन् पर्यटक ?

काठमाडौं । संसारकै सुन्दर मुलुकमध्ये एक नेपाल पर्यटन बजारमा बिस्तारै आफ्नो उपस्थिति देखाउने क्रममा छ । सन् २०१८ मा इतिहासमै सबैभन्दा धेरै पर्यटक नेपाल आए ।

यस वर्ष यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएको सरकारको तथ्यांक छ । पर्यटक आगमन बढेपनि पर्यटनका माध्यमबाट हुने आयले नेपाली अर्थतन्त्रमा त्यति धेरै प्रभाव पार्न सकेको छैन ।

यसको मुल कारण नेपालमा पर्यटकले खर्च गर्ने पर्यटकीय उत्पादन नहुनु पनि हो । त्यसकारण यहाँ आउने पर्यटकको बसाई अवधि पनि छोटो हुन्छ ।

तर, पर्वतारोहण र पदयात्रामा आउने सिमित पर्यटकका कारण पनि बसाई अवधि लामो देखिने गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१८ को समग्र पर्यटन तथ्यांक सार्वजनिक गरेको छ ।

तथ्यांक अनुसार नेपाल आउने पर्यटक औसतः १२.४ दिन मात्र नेपालमा बस्ने गर्छ । पर्वतारोहण र पदयात्राका लागि आउने करीव पौनो दुई लाख पर्यटकका कारण नै औसतः बसाई अवधि धेरै देखिएको हो ।

किनकी उक्त प्रयोजनमा आउने पर्यटकको बसाई औसतः १५ दिनदेखि ४० दिनसम्म पनि पुग्ने गर्छ । तर, भारतीय, चिनियाँ तथा धार्मिक, मनोरन्जन र बिदा मनाउन आउने पर्यटक भने लामो समय नेपालमा बिताउने गरी यहाँ पर्यटकीय उत्पादन विकास भइसकेका छैनन् ।

सन् २०१७ मा औसत १२.६ दिन पर्यटक नेपाल बसेका थिए । सन् २०१६ मा १३.४ र सन् २०१५ मा १३.१६ दिन पर्यटक नेपालमा बसेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सन् २०१८ मा बिदा मनाउने र मनोरञ्जनको उद्देश्यले नेपाल आउने पर्यटक ७ लाख ३ हजार ८ सय ४३ जना थिए । उक्त बर्ष धार्मिक पर्यटक १ लाख ८७ हजार ६ सय ९२ थिए ।

पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकको संख्या १ लाख ६९ हजार १ सय ८० थियो ।

पछिल्लो ५ वर्षमा पर्यटकको बसाई अवधि

सन् २०१४ :  १२.४४ दिन

सन् २०१५ : १३.१६ दिन

सन् १०१६ : १३. ४ दिन

सन् २०१७ :  १२.६ दिन

सन् २०१८ : १२.४ दिन