समाचार

नेकपा विवाद अझ बल्झिदै, आज पनि निस्कएन निकास

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझ बल्झिएको छ । लगातार दुई दिनसम्म शीर्ष नेताहरुबीच भएको भेटवार्ताले कुनै निकास निकाल्न सकेन । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गरेर वातावरण सहज बनाउन माग गरेका छन् ।

उता, ओलीले भने राजीनामा नदिने अडान फेरी दोहोर्‍याए । उनले आफुले राजिनामा नगर्ने भन्दै सकेको गर्न समेत शीर्ष नेतालाई चूनौति दिएका छन् । शुक्रबार स्थायी कमिटी बैठक बोलाइएको छ । त्यसअगाडी विवाद समाधान गर्न समय दिइएको थियो । तर, पटक पटकका वार्ता असफल भइरहेका छन् ।

यसअघि एक्लै वा स्थायी कमिटीका नेतासहित बैठक बसेका प्रचण्डले बिहीबार वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत बालुवाटार लगेर गएका थिए । बैठकमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी भएका छन् । छलफलमा प्रचण्ड र नेपाल दुबैको एक मत ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने रहेको थियो ।

नेकपा सचिवालयका ९ जना सदस्यमध्ये ६ जना प्रधानमन्त्रीको राजिनामाको पक्षमा रहेका छन् । ओलीले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछाड्ने बताएका छन् । प्रचण्ड र नेपाल पक्षले भने सरकार एकपछि अर्को विवादमा फस्दा पार्टी नै अप्ठ्यारोमा परेको भन्दै प्रधाननमन्त्रीबाट राजीनामा दिनु पर्ने माग गरेका छन् ।