स्वास्थ्य

अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

न्युयोर्क

अमेरिकामा बिहिबार ७७ हजार  कोरोना संक्रमित पुष्टि भएका छन् ।बिहीबार पुष्टि भएको यो संख्या अमेरिकामा एकै दिन पुष्टि भएका कोरोना संक्रमितको आजसम्म कै सर्वाधिक संख्याको नयाँ रेकर्ड हो । यसअघि यसै हप्ता मंगलबार ६७ हजार ४ सय १७ एकै दिन सबैभन्दा धेरैको संख्यामा पुष्टि भएका थिए । पछिल्लो एक हप्तादेखि अमेरिकामा दैनिक ६० हजार माथिको संख्यामा संक्रमित थपिंदै आएका छन् ।जोन हप्किन्स युनिभर्सिटीका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा ३५ लाख ७६ हजार ४ सय ३० संक्रमित र बिहिबार एकैदिनमा मृत्‍यु भएका ९ सय ४३ समेत गरेर १ लाख ३८ हजार ३ सय ६० मृतक सँख्या पुगेको छ ।आजसम्म कोरोना संक्रमितको संख्या गणनामा विश्वभरमा अमेरिका पहिलो ब्राजिल दोश्रो र शुक्रबारदेखि भारत तेश्रो श्रेणीमा उक्लिएको छ ।
अमेरिकामा हरेक दिन संक्रमितको संख्या बढ्दै गर्दा सरुवा रोग बिशेषज्ञ डा एन्थोनी फाउचीले यस अगाडि दिएको चेतावनी नजिक अमेरिका पुगेको छ।डा फाउचीले केही हप्ता अगाडि भनेका थिए; “यदि भाईरसलाई समय मै ब्यवस्थापन गर्न सकिएन भने अमेरिकामा दैनिक एक लाख मानिस संक्रमित हुने छन्” ।अमेरिकामा हाल दैनिक रुपमा चुलिदै गएको संक्रमितको संख्याले डा फाउचीको अनुमान सही साबित हुन धेरै टाढा छैन ।
फ्लोरिडा र टेक्सासमा बिहिबार कोरोना संक्रमणबाट मृत्‍यु हुनेहरुको संख्याले पुन: नयाँ रेकर्ड राख्यो ।बिहिबार फ्लोरिडामा १५६ र टेक्सासमा १ सय २९ को मृत्‍यु भयो ।फ्लोरिडाका ५४ वटा अस्पतालमा आईसियु बेड भरिएका छन् भने मायामीका दर्जनौ प्रहरीहरु कोरोना संक्रमित भएका छन् ।
अमेरिकामा कोरोना संक्रमित बढदै गएपनि राष्ट्रपति ट्रम्पले राष्ट्रिय रुपमा मास्क लगाउनै पर्ने घोषणा नगर्ने ह्वाईट हाऊस प्रशासनले बिहिबार प्रष्ट पारेको छ । उता अगस्ट २१ तारिखसम्मका लागि अमेरिकासँग सिमा जोडिएको मेक्सिको र क्यानाडाले भने अत्यावश्यक भ्रमणको हकमा बाहेकअमेरिका आवत जावत बन्द गरेका छन् ।