समाचार

काठमाडौंको स्थानीय समुदायमा कोरोना नफैलिएको सरकारको निष्कर्ष

काठमाडौं । काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना नफैलिएको निष्कर्षमा सरकार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बढी भिडभाड हुने विभिन्न स्थानबाट नमुना संकलन भएको थियो । कुल ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा ३ जनामा मात्र संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती तीन जना पनि दुई जना हालै विदेशबाट फर्किएका र एक जना व्यूटी पार्लर व्यवसायमा संलग्न व्यक्ति भएको बताइएको छ । पछिल्लो नतिजाबाट काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण नदेखिएको उनले जानकारी दिए । नमुना परीक्षण र अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदायस्तरमा संक्रमण फैलिएको कुरालाई पुष्टि गर्न कहिँ कतै सहयोग गरेको नपाइएको उनको भनाई छ ।

काठमाडौं उपत्यकामा असार तेस्रो हप्ता संक्रमण स्रोत नखुलेका धेरै संक्रमित भेटिएका थिए । समुदायस्तरमा संक्रमण भएको आशंका गरिएको थियो । त्यसपछि सरकारले काठमाडौं उपत्यकाको भिडभाड हुने १० भन्दा बढी स्थानबाट ४ हजार ८ सय नमुना संकलन गरी परीक्षण गरेको थियो । समुदायस्तरको परीक्षणमा तीन जनामा देखिएको संक्रमणबाट भीडदेखि भने टाढौ बस्नु पर्ने सन्देश दिएको उनको भनाई छ ।

संक्रमणको जोखिम अझै रहेको र कोरोना महामारीको भन्दा पहिलेको अवस्थामा फर्किन समय लाग्ने वा त्यस्तो अवस्था नआउन पनि सक्ने सरकारको भनाई रहेको छ । संक्रमण घटेपनि पछिल्लो समय शहर बजारमा बढेको भिडभाडले भने चिन्तित बनाएको मन्त्रालयले उल्लेख गरेको छ ।