फिचर

विश्वबैंकले सडक पूर्वाधारका लागि नेपाललाई दियो अहिलेसम्मकै ठूलो ऋण सहायता

काठमाडौं । विश्व बैंक र नेपाल सरकारबीच एक आर्थिक सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । हस्ताक्षर अनुसार विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ) ऋण सहायता प्रदान गरेको छ । यो सहायता विश्व बैंकबाट एकल रुपमा प्राप्त अहिलेसम्मकै ठूलो रहेको विश्व बैंकले जनाएको छ ।

नेपालका रणनीतिक सडकको सुधार तथा क्षमता अभिवृद्धिमा विश्व बैंकले ठूलो ऋण सहायता प्रदान गरेको हो । विश्व बैंकले रणनैतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाका लागि यो सहायता प्रदान गरेको बताएको छ । विश्व बैंकले यो सहयोगको परिचालनबाट कोभिड १९ पछि आर्थिक गतिविधिलाई बढावा दिनसमेत उल्लेख्य सहयोग पुग्ने बताएको छ ।

यो रकम नागढुंगा नौबिसे मुग्लिङ सडकखण्ड सुधार गर्न प्रयोग गरिने भएको छ । उता, कमला ढल्केबर पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाउन समेत यो रकमको उपयोग गरिनेछ । विद्यमान व्यापारिक सेवालाई सहज बनाउन, कृषिजन्य निर्यात प्रवर्द्धन गर्न यस आयोजनाले सीमा(नाकामा पूर्वाधार, सेवा सुविधा तथा सरसफाइमा सुधार गर्ने समेत योजना छ ।

कोभिड १९महामारीका बीच यस आयोजनाले सीमा(नाकामा वस्तु तथा मानिसको जाँच गर्ने प्रक्रियाको सुधार समेत गर्ने भएको छ । यो आयोजना नेपाल सरकार र विश्व बैंकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना भएको समेत बैंकले जनाएको छ । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस सम्झौतामा हस्ताक्षर गरेका छन् ।