स्वास्थ्य

विश्वभर कोरोनाले ज्यान गुमाउने ६ लाखभन्दा माथि, संक्रमण डेढ करोड नजिक

काठमाडौं । संसारका करीव डेढ करोड मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । कोभिड–१९ बाट विश्वभर अहिलेसम्म १ करोड ४० लाख ३७ हजार २१ जना मानिस संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । उनीहरुमध्ये ६ लाख ६६५ जनाले ज्यान गुमाइसकेका छन् । जोन्स होप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतले रुसलाई समेत उछिन्दै संक्रमित संख्यामा निरन्तर अगाडी आएको छ ।

यस सुचिमा सबैभन्दा अगाडी भने अमेरिका छ । यस मुलुकमा अहिलेसम्म सबैभन्दा बढी ३६ लाख ३८ हजार २ जनामा संक्रमण पुष्टी भइसकेको छ । अमेरिकामा १ लाख ३९ हजार १२८ मानिसको ज्यान गइसकेको छ । अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रसिया र पेरुमा धेरै संक्रमित भेटिएको तथ्यां रहेको छ । ब्राजिल, बेलायत, मेक्सिको, इटली र फ्रान्समा अन्यत्रभन्दा धेरै संक्रमितको ज्यान गएको छ ।

भारतमा संक्रमित धेरै भएपनि ज्यान गुमाउने मानिसको संख्या भने कम रहेको छ । भारतमा १० लाख ३ हजार ८३२ जनामा संक्रमण भएको छ । नेपालमा १७ हजार मानिसमा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये ११ हजार हाराहारी मानिसले यसलाई जित्न सफल भएका छन् । ४० जनाले ज्यान गुमाएका छन् ।