समाचार

२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द

काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि नेपालमा विदेशी च्यानलको प्रसारणमा बन्देज लगाएका छन् । सोमबार दिउसो ३ बजेबाट विदेशी च्यानल बन्द गरिएको हो ।

जसले गर्दा सोमबार भइरहेका विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारणसहित अन्य लोकप्रिय कार्यक्रम दर्शकले छुटाउने भएका छन् ।

सरकारले प्रस्तावित विज्ञापन ऐन २०७६ मा क्लिन फिड लागू गर्ने नीति राखेको छ । व्यवसायी यसको विरोधमा छन् ।

क्लिन फिडले पर्ने असरका सम्बन्धमा सरोकारवालाको ध्यानाकर्षण गराउन विदेशी च्यानल बन्द गरिएको व्यवसायीहरुले बताएका छन् । २४ घण्टे च्यानल बन्दलाई सांकेतिक विरोधका रुपमा लिइएको छ ।

विधेयकमा विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान अव्यवहारिक भएको व्यवसायीहरुको तर्क रहेको छ ।

नेपालमा प्रसारण हुने सबै च्यानलमा अहिले सिधै सामग्रीसहित विज्ञापन पनि प्रसारण हुन्छ । जसले गर्दा नेपाली दर्शकले जबजस्र्र्ती भारतीय तथा अन्य विदेशी उत्पादनको विज्ञापन हेर्नु परेको छ ।

क्लिन फिड लागु गर्दा नेपालबाट विज्ञापनका लागि बाहिरिने ठूलो रकम बच्ने छ भने बहुराष्टिय कम्पनीहरुले पनि नेपालमै नेपाली भाषामा विज्ञापन बनाएर जाउनु पर्ने छ । च्यानलहरु मंगलबार ३ बजेपछि मात्र खुल्नेछन् ।

नेपालमा प्रसारण हुने कूल च्यानलमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।

भारतीय च्यानलमा क्लिन फिड लागु भएमा त्यसका लागि भारतीय च्यानलहरु पनि तयार हुनुपर्छ । उनीहरु तयार नभए नेपालमा त्यस्ता च्यानलको प्रसारण बन्द हुन्छ ।

त्यस अवस्थामा नेपालमा दर्शकले मनरोञ्जनात्मक, समाचार, सूचना र खेलकुद, धार्मिकलगायतका विधाका च्यानल हेर्न नपाउने व्यवसायीहरुको भनाई रहेको छ ।