समाचार

महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति

काठमाडौं । शनिबार एकाएक नेकपा विवाद समाधार भएको र नेताहरु सहमतिमा पुगेको जानकारी वालुवाटार स्रोतले संचारमाध्यमलाई गरायो । यसमा अध्यक्ष प्रचण्डसमेत सहमत भएको जानकारी बाहिरिएको थियो । तर, प्रचण्डपुत्री गंगा दाहालले प्रचण्ड सचिवालयको तर्फबाट शनिबार राती ट्वीट गर्दै महाधिवेशनबारे कुनै सहमति नभएको र छलफल जारी रहेको उल्लेख गरिन् ।

नभन्दै महाधिवेशन वालुवाटारले सत्ता जोगाउन फ्याँकेको अर्को कार्ड मात्र भएको पुष्टी भएको छ । आइतबार प्रचण्डले केही नेताहरुसँगको छलफलमा ओलीसँग कुनै सहमति नभएको र आफुलाई परिवन्दमा पारेर शितल निवास बोलाइएको उल्लेख गरेका छन् । आइतबार खुमलटारमा स्थायी कमिटी सदस्यहरुको बैठकमा प्रचण्डले यस्तो जानकारी गराएका हुन् ।

बैठकमा पूर्वप्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र झलनाथ खनालसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली भीम रावल, बेदुराम भुसाल, रघुजी पन्त, भीम आचार्य, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुनलगायत नेता सहभागी थिए ।

उक्त भेलामा प्रचण्डले प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्‍याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको महसुस आफुले गरेको उल्लेख गरे । प्रचण्डका अनुसार राष्ट्रपति कार्यलयमा बोलाएर फसाउन खोजेको महसुस भएपछि आफूले छोरी गंगा दाहाललाई शनिबार राति नै फेसबुकमा स्टाटस लेख्न लगाएको र सहमतिको भ्रममा नपर्न भनेको प्रचण्डले नेताहरुलाई जानकारी दिएका थिए ।