विश्व

राष्ट्रपति ट्रम्प दक्षिण कोरिया जाने, उत्तर कोरिया पुग्लान ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् । विश्वका २० ठूला औद्योगिक शक्ति राष्ट्रहरुको जी-२० शिखर सम्मेलन जापानमा शुरु हुँदैछ ।

यो सम्मेलनमा भाग लिन राष्ट्रपति ट्रम्प जापान आउँदैछन् । सोही मौकामा राष्ट्रपति ट्रम्प आगामी शनिबार दक्षिण कोरियाको राजधानी सियोल पुग्ने दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनको कार्यालयले उल्लेख गरेको छ।

दक्षिण कोरियामा राष्ट्रपति ट्रम्प दुई दिन रहने भएका छन् । त्यसक्रममा उनी उत्तर र दक्षिण कोरियाको सीमा ‘नो म्यान्स ल्याण्ड’ सम्म पुग्ने तयारी भइरहेको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

त्यसो त, दुई वर्ष अगाडी नै ट्रम्प दक्षिण कोरिया भ्रमणमा पुगेका थिए । त्यसबेला पनि उनी दुई कोरियाको सीमानासम्म पुग्न चाहन्थे । तर, त्यसको व्यापक विराध भयो ।

फलस्वरुप कार्यक्रम नै रद्द गर्नु परेको थियो । त्यसबेला अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाबीचको सम्बन्ध अहिले जस्तो सुधार भइसकेको थिएन।

कोरिया भ्रमणको बेला ट्रम्पले समकक्षी मुनसँग द्धिपक्षीय वार्ता गर्नेछन् । उत्तर कोरियासँगको वार्ता र दुई पक्षीय सम्बन्ध अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल गर्ने एजेण्डा तय गरिएको छ ।

अमेरिका र उत्तर कोरिया पछिल्लो समय वार्तामा छन् । कुनै समय उच्च टकरावका बीच विश्वभर नै तनाव बढिरहेका बेला यी दुई मुलुकबीचको वार्ताले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।

पछिल्लो समय गत फेब्रुअरीमा भियतनामको हनोइमा ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ता भएको थियो । तर, त्यो वार्ता भने असफल भयो ।

केही समय यता भने यी दुईबीचको सम्बन्ध पुनः प्रगाढ बन्दै गएको बताइएको छ । अघिल्लो साता ट्रम्पले पठाएको चिठीको उत्तर कोरियाली नेता किम जोङ उनले प्रशंसा गरेका थिए ।
एजेन्सी