विज्ञान प्रविधि

अक्स्फोर्डका वैज्ञानिकलाई डब्लूएचओको बधाई

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा सफलतातर्फ उन्मुख अक्स्फोर्ड यूनिभर्सिटीका वैज्ञानिकलाई विश्व स्वास्थ्य संगठनले बधाई ज्ञापन गरेको छ । भ्याक्सिन निर्माणमा सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठनले यसको स्वागत गरेको हो । भ्याक्सिन बनेपछि यसको तिब्र फैलावट नियन्त्रणमा भने अझै संघर्षको आवश्यकता रहेको समेत संगठनको भनाई रहेको छ ।

जेनेभामा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकको उपलब्धी सकारात्मक परिणाम भएको बताए । उनले देशहरुलाई परीक्षणको दायरा बढाउन समेत माग गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ ।

यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षणका काम अहिले जारी रहेको छ । कोरोनाविरुद्ध हाल विश्वभर २३ स्थानमा भ्याक्सिन बनाउने काम जारी छ । डा. रेयानले कोरोनाको उपचार खोज्ने दिशामा धेरै भ्याक्सिनमाथि काम भइरहनु राम्रो संकेत भएको समेत बताएका छन् । कोरोनाको भ्याक्सिन निर्माणमा चीन, अमेरिका, बेलायत, रुस, भारतजस्ता शक्तिशाली मुलुक संक्रिय छन् ।