स्वास्थ्य

कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता

न्युयोर्क

राष्ट्रपति ट्रम्प प्रशासनले डिसेम्बरसम्ममा कोरोना बिरुद्धको भ्याक्सिन डेलिभरी दिने गरी फाइजर कम्पनीसँग २ अरब अमेरिकी डलरमा सम्झौता गरेको छ । ट्रम्प प्रशासनले  निकट भविष्यमा आँउदै गरेको १० करोड डोज भ्याक्सिनको लागि फाइजरसँग सम्झौता गरेको हेल्थ एण्ड ह्युमन सर्भिसका सेक्रेटरी  एलेक्स अजरले बुधबार घोषणा गरेका हुन् । प्रशासनले गरेको सम्झौता अन्तर्गत अमेरिकाले अर्को ५० करोड डोज खरिद गर्न सक्ने पनि सेक्रेटरी अजरले बताएका छन् ।  अजरले फक्स न्युज टिभिमा भनें; ‘पक्कै पनि त्यो भ्यक्सिन सुरक्षित र प्रभावकारी हुनु पर्छ, साथै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनबाट मान्यता प्राप्त हुनै पर्छ’ ।

फाइजर र बायोएनटेकले संयुक्तरुपमा बनाउदै गरेको भ्याक्सिनको लागि हेल्थ एण्ड ह्युमन सर्भिस र डिफेन्स डिपार्टमेन्टसँग सम्झौता गरेको दुबै कम्पनीले बिज्ञप्ति सार्वजनिक गर्दै बताएका छन् । सरकारले भ्याक्सिन प्राप्त गर्न औषधि कम्पनीसँग गरेको सबैभन्दा पछिल्लो सम्झौता हो  । फाइजर र बायोएनटेक कम्पनीका अनुसार एफडिएबाट मान्यता प्राप्त गर्ने बित्तिकै १० करोड डोज भ्याक्सिनको लागि अमेरिकी सरकार १ अरब ९५ करोड अमेरिकी डलर तत्काल नै कम्पनीलाई भुक्तानी दिनु पर्नेछ । अमेरिकी जनताले भने भ्याक्सिन नि:शुल्क लिन पाउने छन् ।  

अमेरिकी सरकारको अनुदानमा निर्माणाधिन अवस्थामा रहेका सम्भाबित भ्याक्सिन प्राप्त गर्न सरकारले गरेको यो पाँचौं सम्झौता हो ।  हाल विश्वभर झण्डै २ दर्जन भ्याक्सिनहरु मानब परिक्षणको क्रममा छन् भने केही भ्याक्सिन प्रमाणिकरणको लागि अन्तिम अवस्थामा छन् ।