अर्थतन्त्र

बाढिपहिरो पिडितलाई दिने राहत दोब्बर बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले हरेक जिल्लामा विपद् पीडितको खोज तथा उद्धारका लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने गरी विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।

यही साउन ५ गतेको मन्त्रिपरिषद्को निर्णयले ‘प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४’ लाई समसामयिक संशोधन गरी ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड २०७७’ स्वीकृत गर्दै उक्त व्यवस्था लागू गरेको हो ।

उक्त मापदण्डबमोजिम प्रमुख जिल्ला अधिकारीले पीडितको खोज उद्धार कार्यका लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति जुनसुकै बेला परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राख्नुपर्नेछ । यस्तै आपत्कालीन अवस्थाका लागि खाद्यान्न र लत्ताकपडा भण्डारण गर्नुपर्नेसमेत व्यवस्था गरिएको छ ।

गृहमन्त्रालयले उक्त मापदण्डबारे जानकारी गराउँदै जिल्ला विपद् व्यवस्थापन समितिको मातहतमा खोज तथा उद्धार सामग्रीको भण्डारण गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ । यस्तै मापदण्डमा विपद्मा परी मृत्यु भएमा रु दुई लाख र सोही परिवारमा अन्य व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति थप रु एक लाखका दरले राहत उपलब्ध गराइने उल्लेख रहेको छ । एकाघरका परिवारका सबै सदस्यको मृत्यु भएमा भने राहत उपलब्ध गराइने छैन ।

विपद्बाट घर, बहाल, आवास नष्ट भएमा वा खाद्यान्न, बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भएमा तत्काल गुजाराका लागि प्रति परिवार पाँच जना सदस्य भएमा रु १५ हजार र पाँचभन्दा बढी सदस्य भएमा रु २० हजार राहत उपलब्ध गराइने छ । सम्भव भएसम्म उक्त रकम तत्काल घटनास्थलमै उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

विपद्का घटनामा परी घर नष्ट भएमा र पूर्णनष्ट नभए पनि अन्यत्र सुरक्षित स्थानमा सर्नुपरेमा नयाँ घर निर्माणका लागि रु एक लाखसम्म उपलब्ध गराइने छ । मनसुनजन्य विपद्बाट घरबारविहीन भएका परिवारलाई भूकम्प पीडितलाई प्रदान गरिएको विधि र प्रक्रियानुसार शहरी विकास मन्त्रालयबाट आवास निर्माणको व्यवस्था मिलाइनेछ ।

राहत वितरण गर्दा वा उद्धार गर्दा सुत्केरी गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ । यस्तै विपद्मा उद्धार र राहत व्यवस्थापनमा सक्रिय सहभागिता जनाउने सङ्घसंस्था तथा व्यक्तिलाई उचित सम्मान र विशेष पुरस्कारका लागि सम्बन्धित प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले गृह मन्त्रालयमा पठाउनसक्ने व्यवस्था पनि उक्त मापदण्डमा गरिएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

३ वर्षअघि जारी गरिएको प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७४ अनुसार मनसुनी विपद्‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहत, अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार र विस्थापितलाई दैनिक गुजारा चलाउन तत्काल १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था थियो ।