स्वास्थ्य

काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौंमा युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार भएको थियो । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाटै पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद रहेको प्रहरीले जानकारी दिएको घ ।

घटना भएका दुई घण्टा भित्र उनीहरु पक्राउ पर्न सफल भएका छन् । आलमको आदेशमा उनका कामदार मुन्नाले युवतीको अनुहारमा एसिड छ्यापेको खुलेको छ । राजधानीको एक तारे होटेलमा काम गर्ने युवती र आलमबीच भने चिनजान भएको बताइएको छ । युवतीले आलम दाई जस्तो मान्ने गरेको भएपनि आलमले उनलाई मन पराउने गरेका थिए । युवतीले आफुलाई मन नपराएपछि उनलाई एसिड छ्यापेको बयान आलमले दिएका छन् ।

घरबाट दही किन्न बजार निस्किएकी उनलाई आलमले नै मोटरसाइकलमा राखेर पसलसम्म पुर्याएको खुलेको छ । त्यसपछि उनले योजना अनुसार आफ्ना कामदारलाई युवती फर्कदा एसिड छ्याप्न लगाएका थिए । बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको हो ।

घटना हुनअगाडी आलमको मोवाइलबाट युवतिको मोवाइलमा दर्जनौं मिसकल आएको र सोही आधारमा प्रहरीले अनुसन्धान पनि उनीतर्फ नै मोडेको थियो । त्यसमा सिसिटिभी फुटेजको भिडियो उपयोगी सावित भएको हो । मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेका थिए । आफुले बोतलमा एसिड छ भन्ने पत्तै नपाएको बयान मुन्नाले दिएका छन् । आफ्नो हातमा समेत एसिड झरेर पोलेपछि मात्र एसिड भएको पत्ता पाएको उनले बताए ।