समाचार

२४ सै घण्टा उज्यालो बन्दैछन् काठमाडौंका चोक

काठमाडौं । नेपालको राजधानी काठमाडौं क्रमशः रात्रीकालिन समयमा पनि सक्रिय हुने क्रममा छ ।

सरकारले रात्रिकालिन बस संचालनको तयारी गरिरहेको समयमा अब महानगरपालिकाले मुख्यमुख्य चोकमा ठूलो क्षमताका बत्ति जडान गर्दैछ । हाइमास्ट भनिने यस्ता बत्तिले एक साथ धेरै क्षेत्रमा उज्यालो छर्न सक्ने क्षमता राख्छन् ।

काठमाडौंका मूख्य सडक र चोकमा अहिले सानो क्षमताका बत्ति जडान भइसकेका छन् । तर, रात्रिकालिन समयमा पनि सजिलै हिडडुल, व्यापार व्यवसाय समेत गर्न मिल्ने गरी ठूलो क्षमताका बत्ति जडान गर्न लागिएको महानगरपालिकाले जानकारी दिएको छ ।

सामान्य बत्तीको तुलनामा हाइमास्टले एक साथ धेरै क्षेत्रमा उज्यालो पार्न सक्छ । पहिलो चरणमा सवारी चाप बढी भएका करीव दुई दर्जन चोकमा यस्तो बत्ति जडान गर्ने तयारी महानगरपालिकाको रहेका छ ।

बत्ति जडान गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको महानगरको भनाई । उक्त प्रतिवेदनका आधारमा जडान कार्य अगाडी बढ्ने बताइएको छ ।

काठमाडौंका बानेश्वर, त्रिपुरेश्वर, महाराजगञ्ज, कोटेश्वर, माइतीघर, चावहिलजस्ता चोकमा यस्ता बत्ति जडान हुने भएका छन् ।

उता, ललितपुर महानगरपालिकाले भने कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन बनाउने तयारी गरिरहेको छ । शहरलाई स्वच्छ राख्दै साइकल प्रवद्र्धन गर्न यस्तो तयारी भइरहेको महानगरपालिकाको भनाई रहेको छ ।