स्वास्थ्य

संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र

न्युयोर्क

कोरोना भाइरसको महामारीले विश्वभर ६ लाख ३३ हजार ६ सय ५६ मानिसको ज्यान गई सकेको छ । १ करोड ५५ लाख २६ हजार मानिस विश्वभरमा संक्रमित भई सकेका छन् । यो महामारीबाट १ सय ८८ देश प्रभावित छन् । यो आँकडा जोन हप्किन्स युनिभर्सिटीको सबैभन्दा पछिल्लो आँकडा हो । हाल देखिएको तथ्यांक यस्तो भएपनि संसारभर कोरोना संक्रमित र मृतकको संख्या यो भन्दा निकै धेरै हुन सक्ने अनुमान गरिएको छ । कतिपय देशहरु पर्याप्त मात्रामा जाँच गर्न असमर्थ हुनु, कतिपयले रिपोर्टिङ नगर्नु र कोरोनाको कारण मृत्‍यु भएको हो वा अन्य कारण संकास्पद केशहरु धेरै हुनु । कतिपय देशहरुमा राज्यस्तरबाट आँकडा लुकाउने कामहरु गरिनु र सरकारले सफल देखिन थोरै देखाउनु आदिले अहिले देखिएको भन्दा यो संख्या निकै धेरै भएको चर्चा गर्ने गरिएको छ ।

कोरोना संक्रमणको महामारीमा अमेरिका सबैभन्दा प्रभावित राष्ट्र बनेको छ । झन्डै ३३ करोड जनसंख्या भएको अमेरिकामा बिहिबारसम्म ४० लाख मानिस संक्रमित भै सकेका छन् भने १ लाख ४४ हजार ३ सय ५ जनाको मृत्‍यु भै सकेको छ । पछिल्ला दुई हप्तामा मात्र अमेरिका १० लाख संक्रमित थपिए । पहिलो १० लाख संक्रमितबाट २० लाख पुग्न ४५ दिन लागेको थियो । भने २० लाख जनाबाट ३० लाख संक्रमित संख्या पुग्न २७ दिन लागेको थियो । अमेरिकामा दुई हप्तासम्म संक्रमितको संख्या प्रतिदिन औसत ६६ हजारको दरमा थपिदै आएको छ । यो खतरानाक भाईरस संक्रमणको महामारीले अमेरिकामा हालसम्म संक्रमणको दर घट्ने कुनै संकेत देखाएको छैन ।

राष्ट्रपति ट्रम्पले महामारी सुरु भएको ४ महिनापछि यसै हप्ता ह्वाईट हाऊसबाट भाईरस संक्रमणबाट बच्न मास्क लागाउनु पर्ने सार्वजनिक अभिब्यक्ति दिएका छन् । जनस्वास्थको कुरा गर्दै बिहिबार ट्रम्पले फ्लोरिडास्थित ज्याक्सनभिलमा आयोजित रिपब्लिकन पार्टीको राष्ट्रिय अधिबेशन रद्द भएको घोषणा गरे । यसअघि नर्थ क्यारोलाइनाको सार्लेटमा आयोजित उक्त राष्ट्रिय अधिबेशनलाई त्यहाँका गभर्नरले जनस्वास्थ सम्बन्धि प्रश्न उठाएपछि ट्रम्पले अधिबेशन फ्लोरिडामा सारेका थिए ।अमेरिकामा कोरोना नियन्त्रणमा आउने कुनै संकेत नदेखिएपछि देशका नाम चलेका १ सय ५० जना स्वास्थ बिज्ञ, बैज्ञानिक, शिक्षक, नर्स लगायत अन्य पेशा सम्बद्ध ब्यक्तिहरुले हस्ताक्षर सहित पुन: अमेरिका बन्द गरी कोरोना नियन्त्रण गर्नु पर्ने अनुरोध र सुझाव-पत्र ट्रम्प प्रशासनलाई बिहिबार पठाएका छन् ।