स्वास्थ्य

नेपालमा कोरोनाबाट थप एकजनाको ज्यान गयो, ४५ पुग्यो कुल मृत्यु संख्या

वीरगन्ज । नेपालको बारा र पर्सा जिल्ला कोरोनाका इपिसेन्टर बनेको छ । पछिल्लो दुई दिनमा यहाँ कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ । कोरोना विशेष अस्पतालमा शुक्रबार दिउँसो मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । आज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मृतक युवतीसहित नौ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार नारायणी अस्पतालमा भर्ना भएकी युवतीको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो ।

त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट भएको हो । उक्त टेस्टमा पोजेटिभ पाइएपछि उनको पिसिआर परीक्षण गरिएको हो । आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा उनलाई बिहीबार गण्डक कोभिड अस्थायी अस्पताल ल्याएर भर्ना गरिएको हो । शुक्रबार उनको मृत्यु भयो ।