मनोरञ्जन

आज नागपञ्चमी, नागको पूजाआजा गरेर मनाइदै

काठमाडौं । आज देशभर नागपञ्चमी पर्व मनाइदैछ । श्रावण शुक्ल पञ्चमीका दिन हरेक वर्ष हिन्दु धर्मावलम्बीले नाग पञ्चमी मनाउँछन् । यस दिन नागको पूजा गरिन्छ भने नागको फोटो दैलोमा टास्ने प्रचलन समेत रहेको छ । यसो गर्दा नागराजा प्रसन्न भएर मानिसलाई हानी नगर्ने विश्वास लिइन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकाल परम्परा रहेको छ ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता समेत रहेको छ ।

घरको मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर नाग, सर्प र बिच्छीलगायत जीवको जोखिम नहुने र अग्नि, मेघ तथा चट्याङबाट समेत बच्न सकिने धार्मिक विश्वास रहिआएको छ । आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा नागराजाको पूजा गरिन्छ ।