समाचार

सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित ३१ जना नेताले त्यागे राप्रपा, कांग्रेस प्रवेशको सम्भावना

काठमाडौं । राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानन्त्री स्व. सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित करीव तीन दर्जन नेताले राप्रपा पार्टी परित्याग गरेका छन् । प्रभावशाली नेता तथा पूर्वमन्त्री थापानै बाहिरिएपछि राप्रपालाई भने ठूलो धक्का लागेको छ । धनकुटाबाट उनीसहित ३१ जना नेताले शनिबार पार्टीबाट संयुक्त राजीनामा दिएका छन् ।

उनीहरुले कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराका नाममा संयुक्त राजिनामा पत्र बुझाएका हुन् । सूर्य बहादुर थापाको बिचारलाई बिर्सेर नेतृत्वले ढुलमुले नीति लिएको र सोहीकारण राप्रपाप्रति जन आकर्षण घटिरहेको निष्कर्ष यी नेताले निकालेका छन् । नेपालमा प्रजातन्त्र स्थापनापछि पूर्वपंचहरु संगठित भएर राप्रपा गठन गरेका थिए ।

राप्रपाका संस्थापक नेता तथा पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापासहितका नेताले यो पार्टी स्थापनामा ठूलो योगदान गरेका थिए । उनका पुत्र सुनिलसँगै विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव र पदमबहादुर बस्‍नेतसमेतले पार्टी परित्याग गरेका हुन । स्रोतका अनुसार सुनिल कांग्रेस प्रवेशको तयारीमा छन् । उनलाई सभापति देउवाले राम्रो पदसहित भित्राउने तयारी गरेका छन् ।