स्वास्थ्य

१ करोड ६४ लाखमा पुग्यो कोरोना, ६ लाख ५२ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसको ग्राफ हरेक दिन उकालो लाग्ने क्रममा छ । ३१ डिसेम्बर २०१९ मा पहिलो पटक संक्रमण पुष्टी भएको यो भाइरसको नियन्त्रणका लागि खर्बौ रुपैयाँ लगानी भइसकेको छ । तर, भाइरस नियन्त्रणमा विश्वका सबैजसो देश असफल भएका छन् । सोमबार बिहानसम्म विश्वभर १ करोड ६४ लाख १२ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसले आक्रमण गरिसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्र संसारभर २ लाख १६ हजार ३४० जनामा संक्रमण देखिएको छ । संसारभर कोरोनालाई जित्ने मानिसको संख्या भने १ करोड ४२ हजार २१० रहेको तथ्यां छ । उता, मृत्युदर समेत थामिने संकेत देखिएको छैन । २४ घण्टामा नेपालमा २ जनाको निधन भयो । संसारभर २४ घण्टामा ४ हजार १०४ जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाएका छन् ।

अब संसारभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार ३३ पुगेको छ । तथ्यांक अनुसार कोरोना भाइरसबाट युरोपियन मुलुकमा २ लाख १ हजार ४३६ जनाको मृत्यु भएको छ । २७ लाख ७८ हजार ७५ जना संक्रमित भए । त्यसमध्ये १६ लाख ७० हजार ६९ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । अहिले यूरोपमा भने कोरोनाको तिब्र लहर थामिएको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ८ हजार २६० जनाले ज्यान गुमाएका छन् । यी भेगमा संक्रमितको संख्या ५१ लाख २३ हजार २०३ पुगेको छ । एसियाली मुलुकमा ८९ हजार ९६९ जनाको मृत्यु भइसकेको छ । यसमा भारत र चीनको हिस्सा ठूलो छ । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३४ हजार ९ जनाको मृत्यु भएको छ । यसमा संयुक्त राज्य अमेरिकामा बढी मानवीय क्षति भएको छ । अफ्रिकी मुलुकमा १७ हजार ८०८ जनाको ज्यान गएको छ ।