फिचर

नेपालमा कहिलेबाट खुल्छन् स्कूल ?

काठमाडौं । नेपालमा सरकारले १ भदौबाट भर्ना अभियान संचालनको तयारी गरेको छ । कोरोना भाइरसको महामारीपछि १० चैतयता सबै विद्यालय तथा विश्वविद्यालय बन्द छन् । अनलाइनमाध्यमबाट केही पठनपाठन प्रारम्भ गरिएको भएपनि विद्यालयमा भने विद्यार्थी बोलाइएको छैन । शिक्षा मन्त्रालयका अनुसार १ भदौपछिको १५ दिनको अवस्था विश्लेषण गरी विद्यालय खोल्नेबारे तयारी भइरहेको छ ।

कोरोना भाइरसको संक्रमण सामान्य भएमा १५ भदौबाट नै पठनपाठन सूचारु गर्न सकिने सम्भावना छ । यद्दपी सरकारले भर्ना खोलेको १५ दिन भने परिस्थितिको मूल्यांकन गर्ने बताएको छ । विद्यालय ५ महिना बन्द हुँदा अधिकांश परीक्षा प्रभावित भएका छन् । यसमध्ये सरकारले एसइइ र कक्षा ११ को परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा अंक दिने व्यवस्था मिलाइसकेको छ ।

कक्षा १२ र अन्य परीक्षा भने नियमित संचालनको तयारी गरिएको छ । उता, विश्वविद्यालयहरुले समेत प्राध्यापकहरुलाई हाजिर हुन आग्रह गरिसकेका छन् । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना खुलाइएको छ । त्यसको १५ दिनको अवस्था विश्लेषण गरेर नियमित पठनपाठनको तयारी सुरू गराउने विषयमा तयारी भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।