समाचार

राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि कोरोना संक्रमित

न्युयोर्क

राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिएनलाई कोरोना संक्रमण भएको छ । ओब्रिएनलाई भएको कोरोना संक्रमण ट्रम्प सरकारको हालसम्म कै सबैभन्दा माथिल्लो तहको अधिकारीलाई भएको हो । राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रिएन कोरोना संक्रमित भएको ह्वाईट हाऊसले पुष्टी गरेको छ ।  

ह्वाईट हाऊसले सोमबार प्रकाशित  बिज्ञप्तीमा भनेको छ; ‘राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिएनमा कोरोना पोजेटिभ देखिएको छ । उनलाई सामान्य लक्षण देखिएको छ र उनी आँफै छुट्टै बसेर सुरक्षित ठाउँबाट काम गरी रहेका छन् ।  उनीबाट राष्ट्रपति र उप-राष्ट्रपतिलाई संक्रमण सर्ने कुनै खतरा छैन । राष्ट्रिय सुरक्षा परिषदको काम पूर्ववतरुपमा कुनै बाधा बिना चलिरहन्छ । “अमेरिकाको दक्षिण र पश्चिमका राज्यहरुमा संक्रमित र मृतकको संख्यामा भारी बृद्धि हुँदै गरेको अवस्थामा सुरक्षा सल्लाहकार ओब्रिएन पनि संक्रमित भएका हुन् । राष्ट्रपति ट्रम्प लगायतका ह्वाईट हाऊस अधिकारीहरुमा कोभिड -१९ नियमित जाँच गरिने गरिएको अमेरिकास्थित एबिसि न्युजले लेखेको छ । संक्रमण पुष्टी भएका ओब्रिएनको कार्यालय ह्वाईट हाऊसस्थित राष्ट्रपतिको कार्यालय ओभल अफिसको नजिकमा नै भएको पनि समाचार एजेन्सीहरुले जनाएका छन् ।  

अमेरिकामा सोमबारसम्म १ लाख ४६ हजार ९ सय ३५ जनाको कोरोनाको कारण मृत्‍यु भै सकेको छ ।  

श्रोत : समाचार एजेन्सी