समाचार

न्युयोर्क सहरमा बढ्दै हत्या; आइतबार एकै दिन ७ जनाको गोली प्रहारबाट मृत्‍यु

न्युयोर्क

न्युयोर्क सहरमा आईतबार एकै दिन गोली प्रहारका घटनाबाट ७ जनाको मृत्‍यु भएर रक्तपातपूर्ण दिन बनेको छ । न्युयोर्कमा गत जुलाई ५ पछि एकै दिनको गोली प्रहारका घटनामा मृत्‍यु भएको मानिसको यो संख्या सबैभन्दा उच्च हो । यसअघि गत जुलाई ४ स्वतन्त्रता दिवसको भोलिपल्टको रात अर्थात जुलाई ५ का दिन न्युयोर्कमा ९ जनाको गोली प्रहारका फरक फरक घटनामा हत्या भएको थियो ।  

प्रहरीले गत शनिबारको रात आईतबार बिहान १ बजेर ३५ मिनेट जाँदा ब्रोंक्सस्थित वेष्ट १९२ स्ट्रिट र जेरोम एभिन्युस्थित एक घरको तेश्रो तल्लाको हल वेमा एक ट्रान्स जेन्डर महिलाको छातीमा गोली लागेर मृतक अवस्थामा भेटिएकी थिइन् । सोही राती ३ बजेर १० मिनेट जाँदा ब्रोंक्स कै एलर्टनस्थित पार्क ईस्ट र ब्रिटनमा ३७ बर्षीय जेम्स कोनरलाई टाऊकोमा गोली हानी हत्या गरियो । उक्त घटनाको दुई घण्टापछि ब्रोंक्सस्थित बेलमोण्टको ग्रोट स्ट्रिटमा अर्को दुई जनालाई गोली प्रहार गरियो । उक्त घटनामा २४ बर्षीया जुआन कार्लोस र अर्को नाम थाहा नभएका २० बर्षीया ब्यक्तिलाई गोली प्रहार गरिएको थियो । ती दुई युवालाई गोली प्रहार गरी भाग्न खोज्ने ३९ बर्षीय जोम कसाडोलाई केही परसम्म प्रहरीले लखेटेर तत्काल पक्राऊ गरेको छ ।  

आईतबार कै रात पाँचौं हत्याको अर्को घटना कुईन्सस्थित वुड हेभेनमा घट्यो । वुड हेभेनको ९१ एभिन्यु र ८४ स्ट्रिटमा ४० बर्षीय सका ईफिलको ढाडमा गोली हानी हत्या गरिएको छ । घटना रातको २ बजेर १५ मिनेट जाँदा घटेको हो । गोली प्रहार गरी हत्या भएको उक्त घटनालाई प्रहरीले सम्भाबित घरेलु हिंसाको घटनाको रुपमा हेरेको बताईएको छ । आईतबार गोली प्रहारबाट नै छैठौं ब्यक्तिको मृत्‍यु भएको अर्को घटना ब्रुकलिनस्थित साईप्रस हिलमा घटेको हो ।  साईप्रस हिलस्थित भर्मोन्ट स्ट्रिटमा साँझ ६ बजेर ४० मिनेट जाँदा गोली चल्दा १६ वर्षीय युवकको मृत्‍यु भएको हो । ती युवकको टाउकोमा गोली लागेको थियो । आईतबार नै सातौं ब्यक्तिको मृत्‍यु भएको अर्को गोली प्रहारको घटना ब्रुकलिनको कोर्टल्यु रोड नजिक ईस्ट १६ स्ट्रिट र फ्ल्याटबुशमा ७ बजे साँझ ३२ बर्षीया पुरुषको छातीमा गोली प्रहार हुँदा भएको छ ।  

न्युयोर्क सहरमा गत जुलाई १९ सम्म गत बर्ष सोही दिनसम्म भन्दा २४ प्रतिशत धेरैले मानिसहरुको गोली प्रहारबाट मृत्‍यु भएको छ । गत बर्ष न्युयोर्क सहरमा गोली प्रहारबाट जुलाई १९ सम्म १ सय ७१ को मृत्‍यु भएको थियो भने यो बर्ष सोही दिनसम्म २ सय १२ को मृत्‍यु भएको छ । गोली प्रहारका घटनामा भने न्युयोर्क सहरमा जुलाई १९ सम्म ६९ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष उक्त दिनसम्म ४१४ घटनामा ४ सय ८१ जना घाईते  भएका थिए भने यो बर्ष ६९८ घटनामा ८ सय ५४ जना घाईते भएका छन् ।

फोटो: गुगल