कला / साहित्य

कविता : छिमेकी

अच्युत सिग्देल, न्युयोर्क

 

मेरो धुरीबाट 

धुँवा उडेको देखेपछि 

हनहनी ज्वरो आउँछ 

बारीको काँक्रा फर्सी

मेवा र मकैको घोगामा 

चोखे लगाउँछ 

ऱ्याल चुहाउँछ 

औंसी पुर्णे लागिरहन्छ 

उसलाई 

कहिले मेरो घरको 

जग उस्को हो भन्छ

कहिले मेरो आगनको पर्खाल सार्छ 

बाजे भन्नु हुन्थ्यो, 

वुवा भन्नु हुन्थ्यो 

छिमेकी सार्न सकिन्न 

मर्दा पर्दा चाहिन्छ 

मन नलागी नलागी म पनि त्यसै भन्छु

तर मेरो सानो छोरा

पटक्कै मन पराउदैन उसलाई

हेर्न नै चाहदैन 

उस्को कुटिल र कपटी अनुहार 

सॉझ बिहानै 

मेरो घर तेर्स्याएर 

विष्टाउने उस्को बानी 

पटक्कै मन पर्दैन उसलाई 

हाम्रो

सानो घर, सानो ऑगन 

कम सँख्याको परिवार 

सिमित घर खेत 

कम खर्च र कम आयश्रोत 

खुसी र सुखी परिवारको 

हैसियत सोधी रहन्छ उ 

कहिले कुलो नदिने मेसो 

कहिले बाटो नदिने वहानामा 

कच्कच गरिरहन्छ

हेपाहा बनेर 

आजकल 

हाम्रो बाउबाजेको छालामा 

छेकारो लगाउन थालेको छ 

हिजो अस्तिदेखि भन्न थालेको छ 

ऑखै नलाग्नु रे 

हिड्दै नहिड्नु, छिर्दै नछिर्नु 

गोली ठोकिदिन्छु पो भन्छ 

मापाको भएको छ छिमेकी

रिसले मुर्मुरिएको छोरा

भुत्ते खुकुरी उध्याएर बस्छ 

ऑगनको डिलमा हुक्का तान्दै

काका उखानमा उस्काउँछन्

सुकेको नाडीको बल 

अनाड़ीलाई के थाहा ? 

उहिले नालापानीमा 

पानी मात्र खान पाएको भए 

कान्धारसम्म चन्द्र सुर्य गाढिन्थ्यो  

बजियाको छातीमा 

घोडा दौडाउन पाईन्थ्यो 

म्लेच्छको बाँझो पऱ्यो 

त्यसको झट्केलो छिमेकीको 

दिनदिनको बुहार्तन कति सुन्नु

हुक्काको सर्को उडाउँदै काका भन्छन् 

‘अति गर्नु अतिसार नगर्नु’

फेरी सोचेर एकै छिन 

तर पनि छिमेकी हो 

मर्दा पर्दा चाहिन्छ 

अलिअलि त सहनै पऱ्यो !