रोचक खवर

जुवाखालबाट १४ लाखसहित चार जना पक्राउ

फाइल तस्वीर

सोलुखुम्बु । सोलुखुम्बुमा ठूलो जुवाखालमाथि प्रहरीले छापा हानेको छ । सोलुखुम्बुको सोताङबाट १४ लाख रूपैयाँभन्दा बढी नगदसहित चार जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले जुवाखालमा छापा हानेको थियो । जुवा खेलिरहेको स्थानबाट उनीहरुलाई रंगेहात पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार नगदसहित मङ्गलबार चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री छन् । उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाखको चेकसमेत बरामद गरिएको छ । राजधानीसहितका क्षेत्रबाट यसरी ठूलो संख्यामा पक्राउ परेपनि मोफसलमा एकै खालबाट यति ठूलो परिमाणमा रकम बरामद भएको यो सम्भवतः पहिलो घटना हो ।