स्वास्थ्य

नेपालमा बढ्न थाल्यो कोरोनाको मृत्युदर, बुधबार मात्र तीन जनाको मृत्यु

वीरगन्ज । नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउने मानिसको संख्या बढ्न थालेको छ । सरकारले मृत्युदर कम भएको भन्दै गौरव गरिरहेका बेला हरेक मृत्यु हुने मानिसको संख्या बढ्न थालेको हो । बुधबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

बुधबार पर्सामा थप दुई जनाको ज्यान गएको हो । अब यो जिल्लामा मात्र कोरोना संक्रमणका कारण ज्यान गुमाउने मानिसको संख्या ७ पुगेको छ । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको अस्पतालले जनाएका छन् । निधन भएका पुरुषहरुमा दीर्घरोग रहेको बताइएको छ ।

७१ वर्षका पुरुष पखाला लागेर उपचार गर्न नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनी मिर्गौलाको समस्याबाट पिडित रहेको बताइएको छ । उनको आइतबार पिसिआर परीक्षण गरिएको थियो । ६८ बर्षीय पुरुष समेत मुटु र निमोनियाका बिरामी रहेको अस्पतालले जनाएको छ ।

उता, धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा साँझ ज्यान गएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार एक ४५ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको छ ।