फिचर

कोरियन चेन रेष्टुरेन्ट ब्राण्ड लोट्टे अब नेपालमा पनि

काठमाडौं । नेपालमा अब लोट्टेरियाको स्वाद चाख्न पाइने भएको छ । कोरियाको फ्रेन्चाइज रेष्टुरेन्ट ब्राण्ड लोट्टेले नेपालमा सेवा बिस्तारका लागि नेपाली कम्पनी हिमालय एनकेसँग व्यवसायिक साझेदारी गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवको उपस्थितिमा लोट्टे ग्रुपका ग्लोबल सीइओ नाम इक उ र हिमालय एनकेका अध्यक्ष कुँवरले व्यवसायीक सम्झौतामा हस्ताक्षर गरे ।

गैरआवासीय नेपालीको पहलमा कोरियाको सबैभन्दा ठूलो चेन ब्राण्ड लोट्टे ग्रुप नेपालमा भित्रन लागेको हो । लोट्टेले कोरियामा १३ सयसहित आधा दर्जन मुलुकमा १६ सय रेष्टुरेन्ट संचालन गरिरहेको कार्यक्रममा जानकाारी दिइयो ।

नेपाली कम्पनी हिमालय एनकेका संचालक विनोद कुँवर गैरआवासीय नेपाली हुन् । उनले कोरियामा पनि रेष्टुरेन्ट व्यवसाय गर्छन् । नेपालमा उनको जलविद्युतसहित अन्य क्षेत्रमा समेत लगानी बिस्तार गरिरहेका छन् ।

लोट्टेरियाको चिकेन र बर्गर विश्वप्रख्यात मानिन्छ । सम्झौताका लागि लोट्टे ग्रुपका ग्लोवल सीइओ इक उ अहिले नेपाल आएका छन् ।

सम्झौता कार्यक्रममा मन्त्री यादवले विदेशी आकर्षित गर्न सरकारले वातावरण बनाइरहेको बताए । हिमालय एनकेका अध्यक्ष विनोद कुँवरले भिजिट नेपाल २०२० लाई लक्षित गरी नेपालमा कोरियन ब्राण्ड भित्राउन लागिएको बताए ।

लोट्टेरिया सन् १९७९ मा स्थापना भएको हो । ग्रुपले भियतनाम, म्यानमार, इण्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मंगोलिया र लाओसमा फ्रेन्चाइज रेन्टुरेन्ट संचालन गरिरहेको छ । तीन देशमा करीव ३ सय रेष्टुरेन्ट लोट्टेरियाको छातामुनी संचालनमा छन् ।