बिचार

प्रवीण गिरी सरको सम्झनामा

पुरुषोत्तम लम्साल 

“हुत्तिनपर्ने ठाउँमा हुत्तिन पर्छ, बत्तिन पर्ने ठाउँमा बत्तिन पर्छ, जहाँ अडिन पर्ने हो त्याँ अडिन पर्छ, ठूलो फ्रेमवाला चश्माबाट तीखा दृष्टी मतिर फालेर प्रवीण सरले थपे – लय खोज्दा भाव पोलेर खाने बानी हटाइदेऊ, जहाँ ठोक्नपर्ने हो त्यहाँ घनै ठोक्नपर्छ।”

गिरी सरका ‘यार’ कमल प्रधान सर छेऊमा हुनुहुन्थ्यो। ‘यार’कै शैलीमा कमल सरले अलि कडा प्रहारबाट मलाई संरक्षण गर्नुभएको छ।

‘ए पुरु ! ठीक भएपछि एकदिन तिम्ले भनेको ठाउँमा माछा मार्न जानुपर्छ है?’, कलेजोको क्यान्सर गाडा हुँदै जाँदा पनि प्रवीण सरको अलग्गै सौख दुरुस्त थियो।

त्रिशुली गएर फर्कदा गेर्खुटारका रामहरी पाण्डे सरबाट गँड्यौलाको एउटा पोको ल्याएँ। त्यो कोशेलीपछि प्रवीण सरले भन्नुभएको थियो– लुभुघाटमा दिउंसै ‘क्याम्पफायर’ गर्नुपर्दछ ।’ बिन्दास हुनु, यायावर झैं डुल्ने लतलाई हौस्याउँथे प्रवीण सर।

अन्तिमपटक ओम अस्पतालमा ‘केमो’ लिन गएका बखत पनि भेट हुंदा पुरानै शैलीमा प्रवीण सरले भन्नुभएको थियो, ‘गड्यौलाको थुप्रो भइसक्यो, खोइ कहिले जाने’ बिदेशबाट उपलब्ध बल्छीले माछा शिकार खेल्ने त्यो योजना अर्को महिनासम्म त्यस्तै भयो।

प्रवीण सरसँग हाकिम र कारिन्दाबीचको सम्बन्ध मैले अनुभवै गरिन। ‘हावाले रुखबाट कुन भित कतिबेला झार्छ त्यस्लाई भुईमा खस्न नदिएर समाउनु’ भन्दा पनि तयार हुने शिष्य झैं थिएँ म, त्यसभित्रको शिक्षा र अर्थ पछि ब्यवहारिक बन्यो।

ठमेलका गल्लीहरुमा हिप्पीहरुको जगजगी हुँदाका अल्लारे प्रवीण गिरी पनि धुँवा र मदिरामा नझुमेका -नरमेका -नजमेका होइनन्। “त्यसलाई ‘इनर्जी’ बनाउने हो क्या, प्रवीण सर भन्थे – जागिरमा काम गर्ने हो, किताब समाएपछि पढ्ने हो बाँकि आफ्नो बाँच्ने हो।”

हो त, प्रवीण गिरीको स्वभावले न अर्थशास्त्रको सह’प्राध्यपक हुन रोक्यो, न ‘स्किलफुल कम्युनिकेटर’ हुन छेक्यो न ब्यावसायिक उचाई नै काट्न सक्यो।

भाइसाथी माझ मात्र होइन कहिलेकाँहि असजिलो ठाउँमा समेत प्रवीण सरको “तामसी शैली”को चर्चा हुन्थ्यो। यो शैलीलाई धेरैले रुखो तीखो भनेर ब्याख्या पनि गरे। तर त्यो शैली पकड्नेलाई प्रवीण गिरी घीऊ थिए-खुदो थिए। त्यही शैलीका कारण समाचार कक्षमा धेरै “प्रवीण सरको अगाडि पर्न नपरे हुन्थ्यो” समेत भन्थे।

काँडा पन्छाएर फूल टिप्न नजान्दा धेरैले वासना लिने अवसर जानीजानी गुमाएको रुपमा बुझ्छु म यसलाई। यसो भनौं, प्रवीण सर एकचोटी रिसाउँदा वा झनक्क तात्दा एउटा नयाँ शिक्षा मिल्यो भनेर बुझ्थें म।

हिमालय टेलिजिनको सुरुवाती दिनमा मलाई टेलिभिजन पत्रकारिताको यावत् विषयमा जानकारी दिंदै तीखो, रुखो र ठाडो शैलीमा बाटो केलाइदिने गुरु प्रवीण गिरीको पार्थीव शरीरको अन्तिम दर्शन गर्न पशुपतिस्थित वनकालीमा पुग्दा उही शैलीमा ‘ए पुरु!’ पो भन्ने हुन् कि जस्तो लागेको थियो । तर त्यसो भएन ।

‘चिप्लो घसेर आग्रह देखाउने भए सरकारी जागिर खाउ’ भनेर मलाई फेरि आग्रहमुक्त बनाउलान् कि भनेर वनकालीमा कुर्नुको पनि अर्थ मैजारो भइसकेको थियो।

झोंछेको गल्लीदेखि मिनभवनको कक्षासम्म, दरबारको दबदवादेखि संगतको आकाशसम्म रिठ्ठो नबिराई ‘लौ गोदेर लेख’ भन्ने गुरु महाप्रस्थान गर्दा लहरै उभिएका धेरै सहकर्मीको शिर जमीनतिर ढल्किएको थियो।

समाचारमा ध्वनी, लवज र शैलीको एउटा ‘ब्राण्ड’ जसले ममाथि सीमित अवधिमा असाध्य गाढा प्रभाव पारे, तिनको महाप्रस्थानको साक्षी भएर फर्किएको आज नौ वर्ष भएछ।

प्रवीण सर!
जिन्दगीमा व्यवधानको पहिरो आउँदा आफ्नै मनको बगैंचामा
निस्फिक्री, वेपरवाह डुल्छु अहिले पनि तपाई जस्तै।
तपाइका लागि ‘टाउको नदुखाई गाँठो फुकाउने’ ‘ए पुरु!’ आज पनि तपाइलाइ सम्झिरहेको छ।
श्रद्धाञ्जली🙏