डायस्पोरा

एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरले गर्यो; बृहत रक्तदान कार्यक्रम

न्युयोर्क

एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा यही जुलाई २६ तारिख आइतवार न्यूयोर्क ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । कोभिड—१९ महामारीको समयमा असंख्य मानवीय क्षति र न्यूयोर्कमा रगतको अत्याधिक अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरेको हो ।

कार्यक्रममा रक्तदाताहरुलाई पीपीई, के.एन.९५ मास्क, सर्जिकल मास्क, ग्लोभ्स र सेनिटाईजर वितरण गरिएको थियो । नेपाल भिजन इंक,  युएस जनगणना २०२० को फाराम भर्ना सहयोग गर्नुहुने यूएस सेन्सन ब्युरोका प्रतिनिधि र अधिकारका प्रतिनिधि र निःशुल्क स्वास्थ्य जाँच (स्क्रिनिंग) तथा अस्पतालले दिने सेवाहरूको बारेमा समेत जानकारी गराइएको थियो ।

एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरका युवा संयोजक बिजय गुरुंगको संयोजकत्वमा प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका वाणिज्यदूत गणेशप्रसाद अधिकारीले उदघाटन गरेको थियो । विशेष अतिथि एनआरएनए एनसिसि अमेरिकाका  उपाध्यक्ष बाबुराम लामा, एनआरएनए एनसिसि अमेरिकाका बोर्ड सदस्यहरू, वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली लगायत संघ संस्थाहरूका अध्यक्षहरू तथा प्रतिनिधिहरू सहित ३०० जना भन्दा बढीको उपस्थिति थियो ।

इच्छुक रक्तदाताहरुलाई न्युयोर्क ब्लड सेन्टरको लिङ्क उपलब्ध गराई अग्रिम अपोइन्टमेण्ट लिन आग्रह गरिएकोमा १ सय ५९ जनाले अपोइन्टमेण्ट बनाएका थिए । त्यस्तै ५० भन्दा बढीको वक-इन उपस्थिति थियो । तर ब्लड सेन्टरको जनशक्तिको कमीले गर्दा १ सय १२ जना अपोइन्टमेण्ट बनाउनेहरु र १८ जना वाक—इन रक्तदाताले मात्र रक्तदान गरे । करिव १९ जना स्वाथ्य चेक जाँचपछि रक्तदान योग्य भएनन् । कुल १ सय ३० रक्त दाता बाट १ सय ३० पिन्ट रगत संकलन भयो ।

कार्यक्रममको सभापतित्व गर्दै च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले; “भविष्यमा पनि सबैको सहभागिता र सहकार्यमा समुदायको हितमा कार्य गर्ने” प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम सम्पन्न गरेको थियो ।