विज्ञान प्रविधि

कोरोना उपचारमा निजी अस्पतालले दैनिक १५ हजारभन्दा माथि शूल्क लिन नपाउने

File

काठमाडौं । सरकारले कोरोना भाइरसको उपचार गर्ने निजी अस्पतालका लागि शूल्क निर्धारण गरिदिएको छ । सरकारले गरेको निर्णय अनुसार कोरोना भाइरसको उपचार गर्ने निजी अस्पतालले बिरामीसँग दैनिक १५ हजार रुपैयाँभन्दा माथि शुल्क उठाउन पाउने छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल अवस्थामा रहेका बिरामीको उपचार गर्दा निजी अस्पतालले अधिकतम १५ हजार रुपैयाँ दैनिक मात्र शूल्क लिन पाउने निर्णय गरेको हो ।

कोरोना संक्रमितको उपचार गर्न सरकारले लेबल १, २ र ३ गरी तीन प्रकारका अस्पताल तोकेको छ । अन्य निजी अस्पतालमा बिरामीले कोरोना संक्रमणको उपचार गराउन चाहेमा समेत अस्पतालको समेत सहमति लिई उपचार गर्न गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार संक्रमित सामान्य अवस्थाको भए प्रतिदिन ३ हजार ५ सय रुपैयाँ, मध्यम जटिल खालको भए ७ हजार र जटिल तथा क्रिटिकल अवस्थाको भए १५ हजार रुपैयाँसम्म मात्र अधिकतम शूल्क लिन पाइने छ ।

उता, कोरोना भाइरसको परीक्षण गर्दा समेत अस्पतालले अब थप १० प्रतिशत सेवा शूल्क लिन पाउने भएका छन् । सरकारले कोरोना परीक्षण गर्दा निजी अस्पतालले बिरामीबाट १० प्रतिशतसम्म सेवा शुल्क पनि लिन पाउने निर्णय गरेको हो । निजी अस्पतालले पीसीअर विधिबाट कोरोना परीक्षण गर्दा सरकारले तोकेको ५५ सय रुपैयाँमा थप १० प्रतिशतसम्म सेवा शुल्क लिन पाउने निर्णय भएको उनले बताए । तर, अनुमति प्राप्त अस्पतालले मात्र परीक्षण गराउँन पाउँछन् ।