रोचक खवर

काठमाडौंमा आन्दोलनरत समुहमाथि प्रहरीले थाल्यो कारवाही, अभियन्ता पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । उता, काठमाडौंकै सडकमा भने मानिसहरुको भिडभाड सामान्य अवस्थामा जस्तै पुगिसकेको छ । केही समुह निरन्तर प्रदर्शनमै छन् । उनीहरुविरुद्ध भने सरकारले कारवाही थालेको छ । काठमाडौंका विभिन्न स्थानबाट इनफ इज इनफका अभियन्ता शुक्रबार पक्राउ परेका छन् ।

दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा धेरै अभियन्ता पक्राउ परेको बताइएको छ । नेतृ रन्जु दर्शनासहित आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्तीलगायत पक्राउ परेका छन् । उनीहरुले आज बालुवाटार घेराउको कार्यक्रम राखेका थिए । सरकार विरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा अभियन्तालाई बाटोबाटै पक्राउ गरिएको हो ।

कोरोना रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको भन्दै उनीहरु आन्दोलनमा छन् । पीसीआर परीक्षण बढाउनुपर्ने, क्वरेण्टीनको व्यवस्थापन राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वरेण्टीनमा बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत माग उनीहरुको छ । सरकारले भने यसरी गरिने भीडभाडले कोरोनाकै संक्रमण बढाउने भन्दै समुहमा भेला नहुन आह्वान गरिरहेको छ ।