मनोरञ्जन

आज इस्लाम धर्मावलम्बी बकर इद मनाउँदै, मस्जिदमा नजान आग्रह

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच आज इस्लाम धर्मावलम्बी बकर इद मनाउँदैछन् । मस्जिदमा भेला भई नमाज पढ्ने परम्परा भएपनि यस पटक घरमै नमाज पढेर चाड मनाउन राष्ट्रिय मुस्लिम आयोगले सबैलाई आह्वान गरेको छ । मस्जिदमा सामाजिक दूरी कायम नहुने र यसले कोरोना भाइरसको संक्रमणको डर हुने भन्दै घरमै नमाज पढ्न आयोगल आग्रह गरेको हो ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । यो पर्वलाई बलिदानीको पर्वका रुपमा मनाइन्छ । बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिनमा पर्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनास्वरुप यो पर्व मनाउने गरिएको हो । नमाज पढिसकेपछि घरमा बली दिने र एकापसमा शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने गरिन्छ । यस पर्वको उपलक्ष्यमा राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्षसहित उच्च पदस्थ अधिकारीले शुभकामना प्रदान गरेका छन् ।