मनोरञ्जन

अमिताभले जिते कोरोना

मुम्बई । बलिवुड सुपरस्टार अमिताभ बच्चनले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनी कोरोनामुक्त भई घर फर्किएका हुन् । आइतबारको कोराना परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएको अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी गराएका छन् । उनले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नो लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई धन्यवाद ज्ञापन गरेका छन् ।

अघिल्लो महिना कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका हुन् । अमिताभसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबैले कोरोनालाई जित्न सफल भएका छन् ।